सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा बृद्धि भएको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका नौजना बिरामी फेला परेका छन् । यो गत आर्थिक बर्षको सोहि अबधिको तुल्नमा तीन गुणाले बढेको जिल्ला जनस्वास्थ्य कार्यालय, सिन्धुलीले जनाएको छ ।
औलो रोग नियन्त्रणका लागि जिल्लाको कमलाखोज क्षेत्रमा वार्षिक दुई लाख रपैयाँको हाराहारीमा बजेट खर्च हुने गरेका छन् । औलो रोगको सङ्क्रमण बोकेका लामखुट्टे नियन्त्रणका लागि यस क्षेत्रमा बर्सेनी स्प्रे गर्ने गरेको औलो रोग नियन्त्रण शाखाका हरिनन्दन महतोले बताए।
लामखुट्टे नियन्त्रणका लागि स्प्रे गर्ने गरिएको भए पनि यस क्षेत्रमा औलो रोग सार्ने नयाँ प्रकृतिका लामखुट्टे देखापर्न थालेको पनि उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँ र घर वरपर स्प्रे गर्ने गरेको भए पनि अनुसन्धानका क्रममा सङ्क्रमितमध्ये अधिकांश जङ्गलमा घाँसपात र दाउरा लिन जाने मानिसमा बढी देखिएको महतोले बताए।
यसको रोगथामका लागि बेलैमा सरकारले ध्यान दिनुपर्दछ । अन्यथा यसले महामारीको रुप लिन सक्छ, उनले भने — जिल्ला जनस्वास्थ्य कार्यालयको पहलमा मात्र यो रोग नियन्त्रण गर्न सकिदैन। रासस