प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक औचित्यका आधारमा चल्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले जिद्धीमा संविधान संशोधन प्रस्ताव ल्याएको बताउँदै आएका अध्यक्ष ओलीले मुलुक औचित्यका आधारमा सञ्चालन गर्नुपर्ने बताएका हुन्।
झापाको सुखानीमा सहिद भएकाहरुको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक औचित्यको आधारमा चल्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरे। उनले सहिदहरुको बलिदानीबाट मुलुक आजको अवस्थामा आईपुगेको उल्लेख गर्दै त्यसलार्ई जोगाउने दायित्व आफनो पार्टी माथि आईपरेको पनि दोहोर्याए। अध्यक्ष ओलीले सुखानीका सहिदहरुको बलिदान मुलुकको परिवर्तनको मुख्य आधार रहेको पनि तर्क गरे।
एमालेले झापाको सुखानीमा तत्कालीन शासकले २०२९ साल फागुन २१ गते हत्या गरेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ।