फाइल फोटो
प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलको सहमति, सहकार्य र समझदारीका माध्यमबाट नेपालको संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन्।
अमेरिकी राजदूत अलाइन टेप्लिजसित प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको शिष्टाचार भेटका क्रममा उनले आफ्नो नेतृत्वको सरकार गम्भीर रुपमा सहमतिका लागि दलसितको वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाइरहेको बताए।
प्रधानमन्त्री दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका प्रतिवेदनका आधारमा सङ्क्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताए। भर्खर अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन र त्यहाँ रहेका नेपाली समुदायको भविष्यका बारेमा पनि उनले चासो राखेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
सो अवसरमा राजदूत टेप्लिजले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेकामा सन्तोष व्यक्त गर्दै अमेरिका सधैँ नेपालको शान्ति, र प्रगतिको पक्षमा रहेको स्पष्ट गरे। “अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामले नेपाल र नेपालीलाई कुनै नकारात्मक असर पर्दैन” उनले भने। रासस