सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तह पुनःसंरचनालाई चाँडै टुङ्गोमा पुर्याउन सरकारलाई सबै दलको साथ चाहिएको बताएका छन्।
आज ताप्लेजुङ सदरमुकाममा प्रेस सेन्टर ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री जवेगुले संविधान निर्माणका क्रमसँगै देखिएका केही दल अहिले सत्ता बाहिर रहे पनि कार्यान्वयनको विषयमा एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए।
उनले संरचना तयार गर्ने क्रममा सीमा, सङ्ख्या आदि विषयमा देखिएका जटिलतालाई सरकारले गम्भीररुपमा लिएको बताउँदै सर्वमान्य बनाउन सरकार लागि परेको दाबी गरे।
सबै प्रदेशमा देखिएका प्राविधिक समस्याको पहिचान र निराकरण गर्ने सवालमा सचिवलाई समेत खटाइएको जानकारी दिँदै उनले मुलुकलाई निकास दिने कुरामा कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे।
तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्न र संविधानको सफल कार्यान्वयन गर्नका लागि संरचनाका विषयमा धेरै विवाद निकाल्न नहुने समेत बताए।
यसैबीच मन्त्री जवेगुले लिम्बू समुदायको सांस्कृतिक पर्व ‘चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा यहाँ आयोजित विशेष कार्यक्रमको उद्घाटन गरे।
चासोक तङ्नामका अवसरमा आजदेखि सुरु भएको विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको एक समारोहबीच उद्घाटन गरे। रासस