सहमति नभएसम्म संशोधन विधेयक कार्यसूचीमा राखिन्नः सभामुख
संशोधन विधेयक फिर्ता लिएपछि मात्र संसद सुचारू हुन्छः ओली
अब यो गतिरोध धेरै नजालाः देउवा
संविधान संशोधनको विधेयक दर्ता गरेको विरोधमा एमालेले संसद अवरोध गरेपछि संसद सुचारू गर्न सभामुख ओनसरी घर्ती सक्रिय भएकी छन्।
सभामुख घर्तीले बिहीबार आफ्नै कार्यकक्षमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेकी छन्।
दुई नेतासँगको भेटमा सभामुख घर्तीले संसदको जारी गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेकी थिइन्। सभामुखसँगको भेटपछि सञ्चारकर्मीसँग बोल्दै कांग्रेस सभापति देउवाले संविधान संशोधनको विषयमा छलफल भएको बताए। ‘संसदको गतिरोध अन्त्यका लागि छलफल भयो’, उनले भने्, ‘अब यो गतिरोध धेरै नजाला।’
सभामुखसँगको भेटमा ओलीले सहमति गरेरै अघि बढ्न चाहेको जानकारी गराए। ‘उहाँले संसदको बैठक सुचारू गर्नका लागि पहल गर्नुपर्यो भन्नुभ,’ सञ्चारकर्मीसँग ओलीले भने्, ‘संविधान संशोधनको विधेयक फिर्ता लिनुहोस तुरुन्तै संसदको बैठक सुचारु हुन्छ भन्ने मैले उहाँलाई बताए।’
तीन दलका प्रमुखहरुसँग एकैचोटी भेट्ने योजना भए पनि प्रधानमन्त्री काठमाडौं बाहिर रहेकोले भेट्न नसकिएको सभामुख ओनशरी घर्तीले बताइन्।
‘नेताहरुलाई मैले हामीसँग महत्वपूर्ण कार्यभार छ धेरै महत्वपूर्ण एजेण्डाहरु छन् त्यसैले संसद सुचारु गर्नुपर्छ भनेर भनेको छु,’ सेतोपाटीसँग घर्तीले भनिन्, ‘संसदको अबरोधकै कारण महाअभियोग प्रस्ताव अघि बढ्न पाएको छैन।’
आफ्नो चार दिने बिदेश भ्रमणका क्रममा दलहरु बिच सहमति गर्न आग्रह गरेको सभामुख घर्तीले बताइन्। आफ्नो अनुरोधलाई नेताहरुले सकारात्मक रुपमा लिएको समेत उनले बताईन्।
दलहरुको सहमति बिना संविधान संशोधनको विधेयक संसदको कार्यसूचीमा नहुने समेत उनले प्रष्ट पारिन्। ‘संसदमा पेश गर्नका लागि विधेयक परिपक्व भइसकेको छ,’ उनले भनिन्, ‘दलहरुको सहमति नभएसम्म संशोधन विधेयक संसदको कार्यसूचीमा रहँदैन।’