नेकपा एमालेका नेता शत्रुघ्न महतोले संविधान संशोधन प्रस्ताव तत्काललाई स्थगन गरी सबै दलको सहमतिमा मधेसी मोर्चाको माग सम्बोधन गर्ने गरी अर्को प्रस्ताव ल्याउनुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा सांसद महतोले सरकारले संविधान संशोधनको औचित्य पुष्टि गर्न नसकेकाले आफ्नो दल सो प्रस्तावको विपक्षमा रहेको बताए । एमाले संविधान संशोधन गर्नै नहुने भन्ने पक्षमा नभएको बताउँदै उनले भने, “अहिले संविधान संशोधनको आवश्यकता हो कि कार्यान्वयन गर्ने बेला हो रु संविधान कार्यान्वयन गर्नका लागि सबै दल मिल्नाको विकल्प छैन ।”
कार्यक्रममा नेपाली काँग्रेसका सांसद महेन्द्र यादवले एमालेको सहयोग र सहमतिमा मात्र संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै त्यसले संविधान कार्यान्वयनमा सहजता ल्याउने विचार व्यक्त गरे । उनले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि सरकारले ल्याएको संशोधन प्रस्तावलाई गलत प्रचार गर्न नहुने बताउँदै राष्ट्रियताको विषयमा पहाड र मधेस भनेर सामाजिक सद्भाव बिगार्ने काम कसैले गर्न नहुने बताए। रासस