सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलबाट ब्याडमिन्टन खेलका लागि खेलाडी छनौट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।
धनकुटा सदरमुकामको कभर्ड हलमा बिहीबार भएको फाइनल छनौटमा पूर्वाञ्चलका पुरुषतर्फ सात र महिलातर्फ पाँचजना छनौट भएकाछन् । प्रतियोगितामा प्रथम स्थानसहित भोजपुरका विवेक श्रेष्ठ, उपविजेता खोटाङका जीवन आचार्य तथा भोजपुरकै विशाल मोक्तान, सुनसरीका सुजन श्रेष्ठ, सुनसरीका प्रकाश लिम्बू, झापाका प्रनिश ठकुरी र भोजपुरका सुवास तामाङ छनौट भएका छन्।
छनौट प्रतियोगिताको फाइनलमा पुरुष सिङ्गलतर्फ भोजपुरका विवेक श्रेष्ठले खोटाङका जीवन आचार्यलाई २३–२१, २१–१५ को सोझो सेटमा हराउँदै प्रथम स्थान हासिल गरेका हुन्। महिलातर्फ प्रथम स्थानसहित मोरङका सीमा राजवंशी तथा उपविजेता खोटाङका सुजाता राई छनौट भए। यसैगरी, छनौटभएका अन्य खेलाडीमा सीताकुमारी राई, भोजपुर, रीमा कर्माचार्य, सुनसरी र नीता लम्साल, मोरङ छन्।
महिलातर्फको फाइनल खेलमा मोरङका सीमा राजवंशीले खोटाङका सुजाता राईलाई २१–१४ पराजित गर्दै प्रथम स्थान हासिल गरिन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सम्पन्न भएको छनौट प्रतियोगितामा पूर्वाञ्चलका १६ जिल्लाबाट पुरुषतर्फ ६७ र महिलातर्फ ४२ जनाको सहभागिता रहेको थियो ।
छनौटमा परेका खेलाडी आगामी राष्ट्रिय प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकुद समिति धनकुटाका अध्यक्ष योगेन्द्र राईले बताए।