फिफा अध्यक्ष जियानी इन्फेन्टिनोले विश्वकप फुटबलमा ४८ टोलीलाई समावेश गराउने प्रस्तावलाई धेरै देशले समर्थन गरेका छन्। सिङ्गापुरमा हाल चलिरहेको फिफाको भेलालाई सम्बोधन गर्ने क्रममा फिफा अध्यक्षले विहिबार ३–३ वटा टिम समावेश गराएर १६ वटा समुह बनाउने प्रस्तावलाई थुप्रै राष्ट्रिय संघका प्रतिनिधिहरूले सकारात्मक कदम भनेका छन्।
उनले २०२६ सम्म विश्वकपमा समावेश हुने राष्ट्रको संख्या बढाउन विभिन्न प्रस्ताव अगाडि सारेका छन्। जसमा ४८ टिमको वैकल्पिक प्रस्तावलाई लिएर धेरैले समर्थन जनाएका छन्।
फिफा अध्यक्षको प्रस्तावपछि शुक्रबार एसिया, युरोप र ओसिनियाका प्रतिनिधिहरूले इटालीका इन्फेन्टिनोसँग भेटघाट गरेका थिए। उनीसँग भेटघाट गर्ने राष्ट्रका प्रतिनिधिहरूले आठ वटा समुहमा समावेश ३२ टिमको संरचना बदल्ने प्रस्तावको स्वागत गरे।
इन्फेन्टिनोको प्रस्तावमा १६ समूहमा रहने ४८ टिमबाट दोस्रो चरणमा ३२ टिम छनोट गर्ने व्यवस्था छ। उनले पहिलो चरणमा समावेश प्रत्येक समुहबाट २–२ वटा टिम अघिल्लो चरणमा प्रवेश गर्ने व्यवस्था बनाएका छन्।