मानौं यस्तो भइदियोस्,
‘अरु २०/३० वर्ष बचाइदिन्छु, के गर्छस्?’
उनको उत्तर पक्कै त्यही हुन्थ्यो, ‘पत्रकारितै गर्छु।’
र, अझ यो पनि छुट्दैनथ्यो, ‘मेरै जिल्ला झापामै बसेर।’
तर, अब यो सम्भव छैन। जे जति गर्नु उनले गरिसके र हामीबाट सधैंलाई बिदासमेत भइसके। अब उनको नामभन्दा उनले गरेका काम सम्झने हो। मृत्यु शैय्यासम्मै उनले देखाएको पेशाप्रतिको लगाव सम्झने हो। आफ्नो कामप्रति कसरी दत्तचित्त हुनुपर्छ भनेर उनको जीवन नियाल्ने हो।
उनले युवावस्थामा थालेर जीवनभर गरे। मैले किशोरावस्थामा थालेर १५÷१६ वर्ष। उही पेशा अर्थात्– पत्रकारिता। उनी आज मरेर गए। अब उनले अक्षरसँग खेल्न पाउँदैनन्। म विदेशिएको छु। तर, अक्षरसँग खेल्न थाकेको छैन। मानौं, ‘वार्म–अप’ गर्दैछु, फेरि आउनेछु। उनी बस्थे झापा। म बस्थें इलाम। हाम्रो लामो भेट चाहिँ जम्मा एकपल्ट।
२०५८ सालको एउटा तुषारे मौसम आज झल्झली सम्झिँदैछु। त्यसबखत नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य थिए उनी। फिदिममा पाँचथर–ताप्लेजुङ संयुक्त शाखाको अधिवेशन हुँदैथ्यो। झापाबाट एउटा झोला झुण्ड्याएर इलाम उक्ले। मोहनमान श्रेष्ठ र आशिष राई जाने कुरा मात्र गरे, गएनन्। सोमनाथ सुसेली, विजयशेखर भट्टराईसहित म मिसिएँ।
कुन संवाददाता कस्तो, कुन सम्पादक कस्तो, कुन पत्रिका कस्तो। कसको तलव कति, कसको छपाई कति! कसको पियाई कति, कसको घुस्याईं कति। इधर–उधर! आखिर यात्रामा निस्केका पत्रकारले गर्ने पर्दा पछाडिका गफ न परे। यसरी समाचार र समाचारपत्रकै सेरोफेरोमै गफिँदै टोली फिदिम पुग्यो।
अधिवेशनमा गज्याङगुजुङ भएन। उहाँको उपस्थितिमा सबै अनुशासित। अर्थात्, महासंघलाई फलानो फलानोको अगुवाईमा यसरी चलाउँदाभन्दा सबै सहमत। मलाई त्यस्तै लाग्यो। म पत्रकारितामा भरखरै लागेको। इलाममा ‘सूत्रधार’ साप्ताहिक र काठमाडौंमा ‘स्पेसटाइम’ दैनिकको संवाददात। त्यसैले, महासंघको अधिवेशन, अग्रजको हाउभाउ, सहभागि पत्रकारहरुको भावभंगिमा सबै चासोका विषय। अहिलेजस्तो भोट–सोटबिनै नेतृत्व चुनियो। कृष्ण ओझा सभापति भए। किशोर राई उपसभापति। त्यहाँबाट भोलिपल्ट दिउँसो इलाम। सिधै च्याङ्बा होटल। टेवलमा फुरबुटीले पस्केको मासु भात थियो। उनकै च्वाइसमा रायोको साग र गुन्द्रुकको अचार पनि। तर, उनलाई त्यो काफी भएन!
‘खोइ तरल चैं?’ उनले बच्चा झैं फुरबुटीतिर आशापूर्वक हेरे। ‘होइन झापा पुग्नुपर्ने, ‘तरल’ नगर्दा नै राम्रो होला दाई’ सुसेलीले सुझाए।
भरखर जुँगाका रेखी बस्दै गरेको म उनले जुँगामा ताउ लगाउँदै ‘तरल’ पर्खेको हेरिरहे। बच्चा झैं घुर्क्र्याएरै सही, उनकै जित भो। ‘तरल’सहित खानपिन सकियो। २४ घण्टे साथ सकिने भो। छुट्टिनुको पीडासँगै ‘तरल’को ताप मिसियो क्यार, राता आँखा हल्का रसिला पार्दै उनले हात हल्लाए। बसपार्कबाट हामीले पनि मन नलागी नलागी हात हल्लायौं।
त्यसपछि एकाधपल्ट देखाभेट भए पनि सम्झनायोग्य उठबस भएन। काम नपर्दा फोनफानमा नि गफिएनौं। यति कुरा भने सधैं थाहा भइरहन्थ्यो, उनी झापामा पत्रकारितामा सक्रिय छन् र बाँचुञ्जेल भइरहनेछन्। त्यो सोचाइ किन आउँथ्यो भने, झापाको पत्रकारितामा उनको नाम अग्रपंक्तिमा थियो। ओजस्वी थियो।
झापाका सहकर्मीहरु सधैं उनलाई आदरपूर्वक सम्झिने। सबैजसोले नामका अघि अरुतिर जस्तै ‘दाइ’ ‘दाइ’ लगाउन । महासंघको अधिवेशनमा केन्द्रीय पार्षदका रुपमा जिताएरै पठाउने। ‘पूर्वाञ्चल’ दैनिकको प्रिन्ट लाइनमा उनको नाम कहिल्यै नछुट्ने। पत्रकारिता क्षेत्रका सभा सेमिनारमा अतिथि, प्रमुख अतिथि बनिरहने।
तर, समय सधैं हाम्रो पक्षमा नहुने। हामीले चाहे जस्तो नभइदिने। निष्ठुरी भन्छन् नि निष्ठुरी! हो, त्यही निष्ठुरी समय अर्थात् कालले उनलाई आज लगेछ। उनले संसार छोडेको खबर दूरदराजको टोरन्टो शहरभित्र काम गर्ने ठाउँमा थाहा पाएँ। धेरैले लेखेजस्तो ‘स्तब्ध’ त भइन, तर भित्रभित्रै दुःखें। दुखिरहेको छु। किनकी, उनी साँच्चैका पत्रकार थिए। सक्कली पत्रकार थिए।
सूचना विभागको कार्ड थियो थिएन, या रिन्यु भएको थियो थिएन, तर उनी नेपाली जगत अझ भनौं झापाले जमानादेखि जाने मानेका पत्रकार थिए। जो बाँचेको भए कसैको कुभलो हुन्थेन, राष्ट्रको ढुकुटी लुटिन्थेन, अस्थिरता फैलिने थिएन। बरु, त्यसो गर्नेविरुद्ध खबरदारी भइरहन्थ्यो, अक्षरमार्फत औंला ठडिइरहन्थ्यो र सुन्दर समाजको परिकल्पना भइरहन्थ्यो।
तुषारोले लछप्रै ढाक्ने त्रिवेणी–रक्से–राँकेको सडकमा उबेला उनीसँगै गुडेको याद संगाल्दै काम सकेर घर फर्कंदा रातको ११ बज्नै लाग्दैथ्यो। सडक पुरै हिउँले सेताम्मे भइसकेको रहेछ। घरका छाना उस्तै हिउँमय। शिशिर ऋतुको पहिलो हिमपात भएछ आजै। टोरन्टोको तापक्रम अस्तिबाटै माइनसमा। अल्बर्टातिर माइनस ३० पुगेछ। तर, उनको सम्झनाले म चाहिँ तातेको तात्यै छु।
फेसबुक खोल्छु, मेरी बास्सै उनलाई शब्दाञ्जली दिने त कति कति!
सबैजसोले नामका अघि ‘वरिष्ठ पत्रकार÷अग्रज पत्रकार!’ यति वर्ष पत्रकारिता गरेको, उति वर्ष शिक्षण गरेको। यो यो पत्रिकामा यो यो पदमा काम गरेको, उ उ पत्रिकामा उ उ छपाएको। फलानो फलानो पुरस्कार हात पारेको, तिलानो तिलानो संस्थामा जिम्मेवारी सम्हालेको।
मानौं, उनी फगत् एउटा बस्तु हुन्, मृत्युसँगै जसको महत्व सकियो र तत् तत् चिजविजसँगको साथ छु्ट्यो । र, अब कहिल्यै जोडिँदैन ।
सिङ्गो जीवनको सबैजसो समय एकै पेशामा सुम्पिएको व्यक्तिलाई मृत्युपछि कसरी सम्झने? यसमा सबैको मत एकै नहोला। तर, सामाजिक सञ्जाल र संस्मरण टाइपका लेखौटहरुमा देखिन्छ– जीवनका यतिका वर्ष यो काम, उतिका वर्ष उ काम, यो यो पद, उ उ पुरस्कार। राजनीतिक रुपमा यो दलको मित्रु, उ दलको शत्रू। यति छोरा, उति छोरी।
अर्थात, श्रद्धाञ्जली भनेकै सनातन शैलीको एउटै फ्रेम। त्यसैमा नाम, ठेगाना, पेशा, परिवार आदि इत्यादि। मृत्यु हुनेबित्तिकै जीवन फेरबदल भएर त्यही फ्रेममा सीमित। बस् खतम! मलाई त्यो मन पर्दैन। अझ, उनको मृत्युको सन्दर्भमा त झनै मन परेन। मृत्युपछि ‘रिप’ मार्काको समवेदनाको त कुरै भएन, अतिशय भावुकता झल्कने संस्मरणहरुमा उनलाई देवत्करण गरेको पनि स्वीकार्य छैन। मेरा लागि उनको नाम, उनको काम, कामप्रतिको लगनशिलता र अन्तिम घडीसम्मको समर्पण नै काफी छ। उनको बोलीबचन, उनको लवाई खवाई, उनको जीवन शैली नै सम्झनयोग्य छ। लाग्छ, उनले भनि बिराएको, छोइ पिटेको र कराई रिसाएको कोही छैन।
जसले, जस्तोसुकै परिस्थितिमा पनि अविराम अखबार प्रकाशन गरिरह्यो। नयाँ पुस्तालाई बाटो बनाइ दिइरह्यो। आफूले खासै केही पाएन, बरु, ‘लिन खोज्ने’ र ‘असुल्न खोज्ने’का लागि आधार खडा गरिरह्यो। त्यसो गर्ने साथीसंगीको हुँडार प्रवृत्तिलाई देखेर पनि नदेखे झैं गर्यो। पत्रकारितामा लागेर धेरैले घर गाडी जोडेको साक्षी भएर पनि आफूले पैदलै जमीन नापिरह्यो। भोग बिलासिता र नगदआर्जनपट्टि कहिल्यै लालसा देखाएन। समाचार, समाचार र समाचारमै समय खर्चिरह्यो।
यस्ता कर्मजीविलाई ‘वरिष्ठ’ र ‘अग्रज’ पत्रकारको उपमा पर्याप्त छ र? त्यस्तो उपमा त मलाई बडो यान्त्रिक र सस्तो पो लाग्छ। किनकी, सबै ‘वरिष्ठ’ गतिला लाग्दैनन्। सबै ‘अग्रज’ पछ्याउन लायक छैनन्। तर, उनी फरक थिए। झापामा मात्र होइन, नेपालमा साँच्चैका पत्रकार जति छन् तिनले उनको नाम सुन्न, पढ्न, देख्नसाथ ‘झापाका पुराना पत्रकार जो सदैव अखबार प्रकाशनमा सक्रिय छन्’ भन्ने बुझेको हुनुपर्छ। माथिका उपमाले साँच्चैका पत्रकारका लागि अर्थ राख्दैन।
पत्रकारिताका नाममा कालो धन खर्चेर संचार माध्यम चलाउने, ४०÷५० वर्ष पुगेपछि आफ्नो नामका अघि आफैं ‘वरिष्ठ र अग्रज’ लेख्नेको जगजगी भएको समयमा उनी फरक हुन्, उनको नामै फरक हो र उनको अहोरात्र कामै झन् फरक हो। मृत्युपछि उनलाई ठूलो पार्न ‘वरिष्ठ र अग्रज’ को उपमा दिइराख्नु जरुरी छैन। उनको नाम र त्यो नामभित्र अटेको समयको कालखण्डभन्दा निकै साना हुन् ती उपमा।
कतिपय सञ्चारकर्मीलाई यो लेखौट मन नपला। अतिशय भावुक लाग्ला। लेख्ने व्यक्तिप्रति चित्त नबुझ्ला। लेखिएका प्रसंगप्रति रिस उठ्ला। अरु मानिसले जे गरुन्, उनीहरुको इच्छा। तर, सञ्चारकर्मीले उनीप्रति सस्ता र खोक्रा विशेषण झुण्डाई समवेदनाका नाममा निजात्मक रोइलो गाइरहनुको अर्थ देख्दिन।
किनकी, उनले कस्तो समयमा पत्रकारिता सुरु गरेर कस्तो अवस्थामा पुग्दासम्म छोडेनन्, कतिलाई थाहा छ? अहिले त जीविका टार्न धौ धौ हुने पेशामा उनले दशकौं कसरी बिताए क कसलाई पत्तो छ? अखबारी कर्मले जहान परिवारको आवश्यकता कसरी टारे, क कसलाई हेक्का छ?
झापाजस्तो राजनीतिका लागि गरमागरम जिल्लामा बसेर कस्ता कस्ता राजनीतिक परिवर्तनका साक्षी हुँदै जीवनका अन्तिम घडीसम्म आफूलाई एउटै पेशामा एकोहोर्याइरहन सफल भए, क कसलाई ज्ञान छ? प्रविधि नभएको समयमा पत्रिका निकाल्न उनले कति संघर्ष गर्नुपर्यो, क कसलाई सम्झना छ? यदि छ भने उनको सम्झनामा ती कुरा लेखिनुपर्छ, ती कुरा कोट्याइनुपर्छ अनि हुनेछ सच्चा समवेदना! अनि ठहरिनेछ पक्का श्रद्धाञ्जली!
उमेरले ६५ वर्ष पुग्दा मधुमेह र मृगौला रोगले पीडित रहेछन् उनी। श्वासप्रश्वास समस्या भएपछि अस्पताल भर्ना भएको समाचार देखेको थिएँ। कृत्रिम श्वासप्रश्वासबाट होसमा ल्याएको र स्वास्थ्य सुध्रिएको खबर थियो। त्यति मात्र होइन, होसमा आएपछि अस्पतालको शैय्यामै आफू प्रधानसम्पादक रहेको ‘पूर्वाञ्चल दैनिक’ हेरिरहेको तस्बिरले मन छोएको थियो।
उनीप्रति भित्रैदेखि श्रद्धा जागेको थियो। साँच्चैका पत्रकार कस्ता हुन्छन् भन्ने त्यो तस्बिरमा झल्किन्थ्यो। फ्रण्ट पेजमा कुन समाचारले मुख्य स्थान पायो, कुन फोटो छापियो, शीर्षक मिल्दोजुल्दो भो भएन, शुद्धाशुद्धी कस्तो रह्यो, आदि सोचेर नियालिरहे जस्तो लाग्थ्यो उनको दृष्टि।
त्यसबखत नजिक थिएँ, भने सोध्ने थिएँ, ‘अब निको भएर के गर्ने दाइ?’ उत्तर सुरुमै आइसक्यो, अर्थात् उनले पक्कै भन्ने थिए, ‘पत्रिकाको सम्पादन गर्ने।’
खोट र दोष मात्र देख्नेले त ६५ वर्षभित्र गरेको कर्मको गहिराई कदापि नाप्न सक्दैनन्। त्यसैले भन्न बेर नलाउलान्– ‘तरल सेवन अधिक थियो र बेलै नभई गयो’, ‘पिउन नि कम्ती हो र, अदुवा खोलाको पानी बराबरै पियो!’ तर म भन्छु, ‘कर्मजीविको शरीर मर्छ तर कर्म मर्दैन।’
त्यसैले तपाईंले देखाएका गुण, अपनाएको सादगी शैली र चालेका पाइलालाई पछ्याउने पनि भइरहन्छन्। अरुले पछ्याउन् नपछ्याउन्, मैले भने हृदयको अन्तरकुन्तरमा सुरक्षित राखेर सधैं सम्झिरहने नाम, जसका अघि आज पहिलोपल्ट अप्रिय शब्द जोडिँदैछ– स्वर्गीय मदन ढकाल।
अलविदा मदन दाइ!