नेपालमा हालसम्म १२ जिल्लामा मात्र पाइने भनिएको लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको सालक हालै गरिएको एक अध्ययनपछि ४३ जिल्लामा भेटिएको छ।
वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्व एवम् ‘युएसएआइडी, हरियो वन’ कार्यक्रमको सहयोगमा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रले गरेको ‘राष्ट्रिय सालक सर्वेक्षण’ पछि सो तथ्याङ्क सार्वजनिक भएको हो।
सालक नेपाल, भारत, चीनलगायत दक्षिण एसियाली राष्ट्र तथा अफ्रिकाका उष्ण भूभागमा पाइन्छ। सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ। यो पुच्छरको सहायताबाट रुखको हाँगामा झुन्डिन सक्छ। यसले आफूलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुडुल्किएर भकुन्डो जस्तै डल्लो पर्छ।
नेपालमै पहिलो पटक राष्ट्रियस्तरमा गरिएको ‘राष्ट्रिय सालक सर्वेक्षण’ सँगै सालकको संरक्षणका लागि कार्ययोजना पनि बनाइने विश्व वन्यजन्तु कोष नेपाल, हरियो वन कार्यक्रमका जैविक विविधता संरक्षण संयोजक डा शान्तराज ज्ञवाली बताउँछन्।
उनी भन्छन्, “नेपालका संरक्षित वन क्षेत्रका भन्दा बाहिर पाइने सालकको अवस्था बढी सङ्कटमा रहेकाले त्यहाँ संरक्षणको बढी आवश्यकता छ । अब छिट्टै सालकको सङ्ख्याका बारेमा थप अध्ययन अनुसन्धान गर्ने योजना छ ।” नेपालमा हालसम्म सालकको सङ्ख्याका बारेमा कुनै अध्ययन भएको छैन ।
सालक दिउँसो दुलोमा बस्छ र आहाराका लागि राति मात्र क्रियाशील हुन्छ । सालक विश्वमै बढी चोरी सिकार हुने प्राणीमध्येको एक हो । नेपालबाट सालक तस्करीका लागि चीन र भियतनाम सबैभन्दा बढी गन्तव्य हुन् । विश्वभर आठ जातिका सालक पाइन्छन् । दुई हजार पाँच सय मि उचाइसम्मको जङ्गलमा भेटिने सालकको दाँत हुँदैन तर ६० देखि ७० सेमीसम्म फैलने यसले जिब्राले प्रायः धमिरा र कमिला खान्छ ।
सालक अनुसन्धानमा क्रियाशील साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रका अध्यक्ष तुलसीलक्ष्मी सुवालका अनुसार नेपालमा कालो सालक र तामे सालक पाइन्छन् । अनुसन्धानका क्रममा सालक संरक्षणमा विभिन्न जिल्लामा देखिएका चुनौती समेत सार्वजनिक गरिएको छ ।
अध्यक्ष सुवाल भन्छन् “नेपालमा सालक संरक्षणका लागि चोरी सिकार, जनचेतनाको कमी, वन डढेलो, वन क्षेत्रमा हुने भौतिक पूर्वाधार निर्माण, विषादी खाएर मरेका किरा खानाले हुने मृत्यु प्रमुख चुनौती देखिएको छ ।”
चोरी सिकारका साथै नेपालका विभिन्न स्थानमा रहेका अन्धविश्वासका कारण पनि सालकको सिकार हुने गरेको छ । कतिपय स्थानमा सालक देखिए अपशकुन हुन्छ भन्ने मानसिकता छ । कतिपय स्थानमा यसको मासु खाए दीर्घरोग निको हुने र कहीँ सालकको मासु खाए सुत्केरीको साल छिटो झर्छ भन्ने अन्धविश्वास छ । त्रिवि प्राणी शास्त्रका प्रा करनबहादुर शाहका अनुसार उक्त अन्धविश्वासमा कुनै सत्यता छैन ।
कालो सालकको पोथीले एक सय २० दिनदेखि एक सय ५० दिनसम्ममा बच्चा जन्माउँछ भने तामे सालकको समागम भएको करिब ७० देखि ७५ दिनमा बच्चा जन्मिन्छ । प्रायःजसो एउटै र कहिलेकाहीँ मात्र दुई बच्चा जन्मछन् । सामान्यतः एउटा सालकको तौलमा २० प्रतिशत भाग खपटा हुन्छ । एउटा सात किलोको सालकबाट १।४ किलो खपटा निस्कन्छ ।
प्रा शाह भन्छन्, “सालक किसानको साथी हो, यसले खेतीबाली र उत्पादनलाई हानिनोक्सानी गर्ने जीवलाई खाएर नियन्त्रण गर्छ । एउटा वयस्क सालकले एक वर्षमा करिब सात करोडसम्म त्यस्ता कमिला र धमिरा खाने विश्वास गरिन्छ । यसले आफ्नो आहारा खोज्ने क्रममा माटो खोस्रेर गोडमेल र उर्वर बनाउने काम समेत गर्छ ।”
विदेशमा सालकलाई घर, रेस्टुराँ वा बगैँचामा पाल्नका लागि जिउँदै तस्करी गरिन्छ भने मरेको सालकलाई रसायनयुक्त सिसामा राखेर सजाउने गरिन्छ । औँठी, मालाका साथै विभिन्न प्राचीन चिनियाँ औषधिका लागि समेत सालकका खपटा प्रयोग हुँदै आएका छन् ।
सालककै खपटाबाट बनाइएको ज्याकेट र झोलाजस्ता सामग्री प्रयोग सम्भ्रान्त वर्गबीच प्रतिष्ठाको विषय मानिँदै आएको छ । सरकारले बाघ, गैँडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रेसँगै सालकलाई पनि अति सङ्कटापन्न सूचीमा राखेर संरक्षणका काम प्राथमिकताका साथ अघि सारेको वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य बताउँछन् । “राष्ट्रिय निकुञ्ज बाहिरका वन क्षेत्रमा सालक संरक्षणका लागि केही जिल्लामा यसै वर्षदेखि कार्यक्रम सुरु गरेका छौँ”, उनले भने।
मुलुकका विभिन्न जिल्लाबाट बर्सेनि काठमाडौँ उपत्यकालाई केन्द्र बनाई ठूलो सङ्ख्यामा सालक र सालकको खपटाको चीनतर्फ तस्करी हुने गरेको तथ्याङ्क छ । उनका अनुसार सालक मार्ने र चोरी सिकार गर्नेलाई एक लाख जरिवाना र कारागार सजायको कडा कानुनी कारबाहीको व्यवस्था छ । रासस