नेपालमा हालसम्म १२ जिल्लामा मात्र पाइने भनिएको लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको सालक हालै गरिएको एक अध्ययनपछि ४३ जिल्लामा भेटिएको छ।
वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्व एवं ‘यूएसएआईडी, हरियो वन’ कार्यक्रमको सहयोगमा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रले गरेको ‘राष्ट्रिय सालक सर्वेक्षण’पछि सो तथ्याङ्क सार्वजनिक भएको हो। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
सालक नेपाल, भारत, चीनलगायत दक्षिण एसियाली राष्ट्र तथा अफ्रिकाका उष्ण भूभागमा पाइन्छ। सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ। यो पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ। यो आफूलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुडुल्किएर भकुन्डोजस्तै डल्लो पर्छ।
नेपालमै पहिलोपटक राष्ट्रियस्तरमा गरिएको ‘राष्ट्रिय सालक सर्वेक्षण’सँगै सालकको संरक्षणका लागि कार्ययोजना पनि बनाइने विश्व वन्यजन्तु कोष नेपाल, हरियो वन कार्यक्रमका जैविक विविधता संरक्षण संयोजक डा. शान्तराज ज्ञवालीले बताए।
‘नेपालका संरक्षित वन क्षेत्रका भन्दा बाहिर पाइने सालकको अवस्था बढी सङ्कटमा रहेकाले त्यहाँ संरक्षणको बढी आवश्यकता छ। अब छिट्टै सालकको सङ्ख्याका बारेमा थप अध्ययन अनुसन्धान गर्ने योजना छ’, उनले भने।
नेपालमा हालसम्म सालकको सङ्ख्याका बारेमा कुनै अध्ययन भएको छैन।
सालक दिउँसो दुलोमा बस्छ र आहाराका लागि राति मात्र क्रियाशील हुन्छ। सालक विश्वमै बढी चोरी सिकार हुने प्राणीमध्येको एक हो। नेपालबाट सालक तस्करीका लागि चीन र भियतनाम सबैभन्दा बढी गन्तव्य हुन्। विश्वभर आठ जातिका सालक पाइन्छन्। दुई हजार पाँच सय मिटर उचाइसम्मको जङ्गलमा भेटिने सालकको दाँत हुँदैन तर ६० देखि ७० सेमीसम्म फैलने यसको जिब्राले प्रायः धमिरा र कमिला खान्छ।