प्रहरीले काठमाण्डौका विभिन्न स्थानबाट १७ लाख मूल्य बराबरको नियन्त्रित लागुऔषध सहित ५ जनालाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्यूरोले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी लागुऔषधसहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो।
प्रहरीले काठमाडौंको स्वयम्भुबाट सुनिता परियार, चावहिल मैजुवहालबाट अनुप बराईली र आदर्श तामाङ, कोटेश्वरबाट विष्णु रणपहेली र बिजय तामाङलाई बौद्धबाट नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट प्रहरीले नियन्त्रित लागु तथा मनोद्दिपक पदार्थ डाईजेपाम १०६० एम्पुल, बुप्रेनर्फिन १०६० एम्पुल र फेनार्गन १०६० एम्पुल समेत जम्मा ३१८० एम्पुल बरामद गरेको छ।
यसको अवैध बजार मुल्य १७ लाख रुपैया पर्ने अनुमान पनि प्रहरीले गरेको छ। नियन्त्रणमा रहेको सबै पाच जनालाई आईतबार विभिन्न समयमा पक्राउ गरिएको हो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विरगञ्जले यही मंसिर २३ गते बाराका केशव महतो र राजेश दासलाई नियन्त्रित लागु तथा मनोद्दिपक पदार्थ नाईट्रोभेट ६० ट्याबलेट सहित नियन्त्रणमा लिएको हो।
महतो र दासको बयानका आधारमा प्रहरीले काठमाण्डौका विभिन्न स्थानबाट आईतबार सुनिता परियार, अनुप बराईली, आदर्श तामाङ, विष्णु रणपहेली र बिजय तामाङलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । विरगञ्जमा नियन्त्रणमा रहेकामाथि सोही स्थानमा कारवाही प्रक्रिया चलाईएको पनि व्युरोले जनाएको छ।