एकान्त स्थानमा सडक दुर्घटनामा परियो, सवारी साधन भने जलेको छ। यस्तो अवस्थामा कुन–कुन आकस्मिक सेवाका लागि फोन गर्ने गरी सम्झिनुपर्ने एम्बुलेन्स, दमकल र प्रहरी। यदि गम्भीर घाइते भइएको छ भने तीन–तीनवटा नम्बरमा फोन गरेर सेवा लिन सहज छ ? अवश्य पनि छैन।
तर, सरकारी योजना समयमै पूरा भए चाँडै नै यी तीनवटै सेवा एउटै नम्बरमा फोन गरी पाउन सकिनेछ। त्यत्ति मात्र होइन, आफैंले दुर्घटनास्थल बताउन नसके पनि ‘लोकेसन ट्रयाक’ हुनेछ र केही मिनेटमै उद्धार हुन सक्छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
सरकारले अघि बढाएको सबैखाले आकस्मिक सेवाका नि:शुल्क नम्बरलाई एकीकृत गर्ने प्रणाली अघि बढे बढीमा एक वर्षभित्र राजधानीवासीले यस्तो सुविधा पाउनेछन्। त्यसको एक वर्षपछि भने मुलुकभर यो सेवा पुग्नेछ। ‘हामीले यसका लागि धेरै तयारी र अध्ययन गरिसकेका छौं,’ आकस्मिक नम्बरहरूलाई एकीकृत गर्न प्राविधिक र परामर्श कार्य अघि बढाएको नेपाल दूरसञ्चार प्रधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘परामर्शपत्रसमेत तयार भइसकेको छ।’
प्राधिकरणले सबैखाले आकस्मिक नम्बरलाई एकीकृत गरी एउटै नम्बरबाट यस्तो सेवा दिने परामर्शपत्रबारे बुधबारबाट सरोकारवाला र सर्वसाधारणको सुझाव संकलन सुरु गरेको छ। ‘४५ दिनसम्म सुझाव संकलन गरेर त्यसलाई समेटी सञ्चार मन्त्रालयमा पठाउँछौं,’ अर्यालले भने, ‘मन्त्रालयले अरू सरोकारवाला मन्त्रालयसँग छलफल गरी यसलाई अघि बढाउनेछ।’
आकस्मिक सेवाका लागि गृह मन्त्रालयको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यसैले गृहको समेत सहमति र सहकार्यमा सबै नम्बरलाई एकीकृत गर्ने काम अघि बढाइनेछ। प्राधिकरणले तयार पारेको परामर्शपत्रमा एम्बुलेन्स, प्रहरी, दमकल, बालबालिका र महिला हेल्पलाइन, विपत सहयोगलगायतका सबैखाले आकस्मिक सेवा एउटै नम्बरमा कल गर्दा प्राप्त गर्ने व्यवस्था मिलाउने उल्लेख छ। ‘आकस्मिक सेवाको एकीकृत नम्बरका रूपमा ११२ नम्बरलाई प्रस्ताव गरिएको छ,’ परामर्शपत्रमा भनिएको छ, ‘दोस्रो प्राथमिकतमा भने ११९ नम्बरलाई राख्नु उपयुक्त हुनेछ।’
प्राधिकरणले धेरै मुलुकमा १११ र ११२ लाई आकस्मिक नम्बरका रूपमा राखिएकाले नेपालमा ११२ सुझाएको हो। हाल फ्रान्स, जर्मनी, इटाली स्पेन, टर्की, अस्ट्रिया, नर्वे, रोमानिया, बेल्जियम, फिनल्यान्ड, बुल्गेरिया, चेक रिपब्लिक, स्विडेनलगायतका मुलुकमा ११२ लाई एकीकृत आकस्मिक नम्बरका रूपमा प्रयोग गरिएको छ।
अमेरिकामा र क्यानडामा भने ११९ लाई प्रयोग गरिएको छ। बेलायतले ९९९ र अस्ट्रेलियाले ० लाई एकीकृत आकस्मिक नम्बरका रूपमा प्रयोग गरिरहेको परामर्शपत्रमा उल्लेख छ। बेलायतमा ११२ लाई भने वैकल्पिक आकस्मिक नम्बरका रूपमा प्रयोग गरिएको छ।
नेपालमा भने ११२ नम्बर हाल मोबाइलबाट आकस्मिक सेवा लिनलाई प्रयोगमा ल्याइएको छ। यो नम्बरमा डायल गर्दा प्रहरी र दमकलका लागि ‘यो नम्बरमा कल गर्नुहोला’ भन्ने सन्देश आउने गर्छ। नेपालमा हालसम्म तीनवटा नम्बर भएका र चारवटा नम्बर भएका गरी ३४ आकस्मिक सेवाका नम्बरहरू प्रचलनमा आइसकेका छन्। यसरी विभिन्न सेवाका लागि फरकफरक नम्बर प्रयोगमा आउँदा आकस्मिक सेवा चाहनेले तत्कालै सेवा पाउन नसक्ने र अलमलिने अवस्था हुने भएकाले एकीकृत प्रणाली विकास गर्नुपर्ने परामर्शपत्रमा सुझाव दिइएको छ।
सरकारी निकाय र गैरसरकारी संस्थाले व्यवस्थापन गरिरहेका यस्ता आकस्मिक नम्बरहरू हाल देशभर पनि चल्दैनन्। नेपाल टेलिकमको नेटवर्कमा मात्र चल्ने यस्ता नि:शुल्क नम्बरमा कतिपय अवस्थामा अन्य कम्पनीको नेटवर्कबाट आएको कल नलाग्नेसमेत गरेको छ। आकस्मिक नम्बर एकीकृत भएपछि यस्तो समस्या आउने छैन। त्यति मात्र होइन, एसएमएस र मोबाइल एप्समार्फत समेत आकस्मिक नम्बरमा सन्देश पठाउन सकिनेछ।
आकस्मिक नम्बरलाई एकीकृत गर्न परामर्शपत्रमा विभिन्न ५ खाले प्राविधिक प्रस्तावसमेत गरिएको छ। युरोपेली र अमेरिकी मुलुकहरूले अपनाएका यी प्रणालीमध्ये एकलाई छनोट गरी सरकारले लागु गर्न सक्नेछ। जीएसएम मोबाइल धेरै चल्ने प्रविधि भएकाले ११२ नम्बर यसका लागि उपयुक्त भएकाले सिफारिस गरिएको परामर्शपत्रमा उल्लेख छ।
यो नम्बरमा भने फोन लक भएको बेलामा समेत कल गर्न सकिन्छ। ११२ नम्बरलाई छुट्टै एकीकृत नम्बरका रूपमा विकास गरिए पनि प्रहरीका लागि १००, १०१ र १०२ नम्बर भने रहिरहनेछन्।