हल सिटीलाई सहजै हराएको टोटनह्यामले विजयी यात्रा जारी राखेको छ। गएराति हल सिटीको चुनौती ३–० ले पन्छाएको टोटनह्याम ३० अंकसहित अंक तालिकाको पाँचौं स्थानमा छ।
टोटनह्यामको जितमा क्रिष्टियन एरिक्सनले दुई तथा विक्टर वानयामाले एक गोल गरे । एरिक्सले १४ औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ६३ औं मिनेटमा एरिक्सनले व्यक्तिगत दोस्रो गोल गरेपछि अग्रता दोब्बर भयो । ७३ औं मिनेटमा वानयामाले गोल गर्दै टोटनह्यामलाई ३–० को जित दिलाए ।
हारपछि १२ अंकसहित हल सिटी १९ औं स्थानमा छ । तालिकामा ४० अंकसहित चेल्सी शीर्ष स्थानमा कायमै छ। यस्तै दोस्रो स्थानमा रहेको लिभरपुल र तेस्रो स्थानमा रहेको आर्सनल समान ३४ अंकसहित उपाधि होडमा छन्।