चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्जका प्राध्यापकले डिन प्रा डा जगदीशप्रसाद अग्रवालले राजीनामा नदिए कडा आन्दोलनमा जाने बताएका छन्।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्राध्यापकहरुले विधिसम्मत रुपमा नियुक्त निवर्तमान डिन प्रा डा केपी सिंहलाई जबर्जस्ती राजीनामा दिन लगाएर नयाँ डिन नियुक्त गरिएकामा आपत्ति जनाउँदै १४ दिनदेखि आन्दोलन गर्दा पनि सुनुवाइ नभएकाले थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरे।
चिकित्साशास्त्र अध्ययन संस्थान बचाऔँँ सङ्घर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका प्राध्यापकले डिनले राजीनामा नदिएसम्म हाल सञ्चालित परीक्षाका कार्यक्रमबाहेक अब हुने परीक्षामा सहभागी नहुने, पठनपाठन अवरुद्ध गर्ने क्रमलाई निरन्तरता दिइने, क्रमबद्ध रुपमा अस्पताल सेवा प्रभावित गर्ने, डिन कार्यालयबाट हुने कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनेलगायत कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सङ्घर्ष समितिका संयोजक डा सुरेश उप्रेतीले प्रा डा अग्रवालको नियुक्ति प्रक्रिया मिचेर गरिएकाले प्रक्रिया अनुसार नियुक्त हुनुपर्ने माग गरे। प्रा डा प्रेम ज्ञवालीले अहिले ५७ विभागमध्ये ५५ ले विरोध गरेको अवस्थामा डिन प्रा डा अग्रवालले राजीनामा दिनुपर्ने, सरकार र त्रिवि कार्यकारी परिषद्बाट पूर्व डिन रमेशकान्त अधिकारीको संयोजकत्वमा निर्मित डिन नियुक्त मापदण्डको प्रक्रियाअनुरुप नै डिन नियुक्त गर्नुपर्नेमा जोड दिए।
शिक्षण अस्पताल कर्मचारी सङ्घका अध्यक्ष नर्मदा थापाले डा केसीको अनशनका कारण अस्पतालको आम्दानी घट्दा एक हजार ५०० बढी कर्मचारीले गत साउनदेखि तलब नपाएको गुनासो गरे।
उनले भने, “ दिनमा एक हजार ९०० सम्म बिरामी आउनेमा अनशनका क्रममा मुस्किलले ४०० बिरामी आए । अनि कसरी आम्दानी हुन्छ ।” प्रा डा सिंहलाई राजीनामा गर्न लगाई सरकारले प्रा डा अग्रवाललाई डिन नियुक्त गरेलगत्तै आन्दोलन थालेका प्राध्यापकले डिन कार्यालयमा पनि तालाबन्दी गरेका छन् । रासस