अफगानिस्तानको कान्दहरमा शनिबार गोली प्रहार हुँदा चालकसहित पाँच महिला कामदारको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार बिहान ५.३० बजे देह खोजामा विमानस्थलमा काम गर्ने ती महिला चढेको सवारी साधनलाई लक्षितगरी गोली प्रहार भएको अधिकारीहरुले बताएका छन् ।
अफगानिस्तानको राजधानी काबुलदेखि ४५० किलोमिटर दक्षिणमा पर्ने सो ठाउँमा ती महिलाहरु कार्यालय जानका लागि मिनिबसमा यात्रा गरिरहेका थिए ।
प्रान्तीय सरकारका प्रवक्ता समिम खपलवाकले घटनाका बारेमा अनुसन्धान गर्न लगाइसकिएको जानकारी दिए।
दोषीलाई पक्राउ गरी कारवाही गर्न खोजीकार्य तिव्र पारिएको उनले बताए।
घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन । तर सरकारी अधिकारीहरुले भने तालिवानी लडाकुलाई ‘शान्ति र स्थिरताका विरोधी तत्व’ भन्दै तीनीहरुलाई नै आक्रमण गरेको आरोप लगाएका छन् । रासस÷सिन्ह्वा