सदियौंदेखि
कच्ची पुल र बर्षा थेग्न नसक्ने पीच बनाउने
ठेकदारहरुको भीडमा
जसोतसो थोत्रो जिन्दगी घिसारेकै थिएँ
थर्डहेन्ड आरएक्स भटभटेजस्तै
कहिले फ्यूल सकिँदै त कहिले स्टार्ट बन्द हुँदै
कहिले गन्तव्य पुगी पनि हाल्थेँ त कहिले बीचमै अलपत्र
ती ठेकदारहरूसँग गुनासो गर्दागर्दै
पौंठेजोरी खेल्दाखेल्दै
अझ ठूला र आफैंले आफैंलाई बलियो ठान्ने
मन र धन दुबैमा गरिब
देश र राष्ट्रियता पनि कमजोर बनाउने
यो देशका ठेकदार भनाउँदाहरूदेखि आजित छु म
थाहा छैन कस्तो भविष्य दिन्छन मेरा सन्ततिलाई यिनले
र पनि
मलाई कत्ति चिन्ता छैन मेरा लालावालाको भविष्यको
ती पनि कसैगरी घिसारिन्थे मजस्तै भटभटेमा
ती कच्ची पुल र कच्ची धुलाम्य बाटाहरू
भोलि कित्ताकाट गर्दा छिमेकी ठेकदारको
भागमा परेनन् भने!