देशकै प्रतिष्ठित विश्वविद्यालयका रुपमा परिचित काठमाडौं विश्वविद्यालय यसपालि विभिन्न शंकास्पद गतिविधिका कारण बदनाम हुँदै गएको छ। एकपछि अर्को गैरकानुनी निर्णय गरेको आरोप खेप्दै आए पनि विश्वविद्यालयले आफूमाथि लागेको आरोप खण्डन गर्न कुनै तदारुकता भने देखाएको छैन।
देशका विभिन्न क्षेत्रमा काठमाडौं विश्वविद्यालयबाट उत्पादित जनशक्तिको उच्च मूल्यांकन भइरहेका बेला हालका घटनाक्रमहरुले ती जनशक्तिलाई पनि लज्जित तुल्याएको छ। अहिलेकै बेथिति जारी रहे तिनलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नआउला भन्न सकिन्न। विश्वविद्यालयका सीमित व्यक्तिको स्वार्थपूर्तिको खेलमा विश्वविद्यालयका पदाधिकारीहरु फस्दा त्यहाँबाट उत्पादित सम्पूर्ण जनशक्ति नै बदनाम हुँदै छन्।
यसअघि पोस्टग्राजुयटको प्रवेश परीक्षामा पनि विवाद भएर संसदीय छानबिन समिति नै गठन भएको थियो। अहिले एमबिबिएस प्रवेश परीक्षामा पनि चिट चोरीको घटना सञ्चारमाध्यममा सार्वजनिक भएको छ। यसरी एकपछि अर्को गम्भीर प्रकृतिका घटना दोहोरिरहने तर विश्वविद्यालयले कुनै कदम नचाल्ने प्रवृत्तिका कारण सम्पूर्ण विश्वविद्यालयको काम-कारबाहीप्रति नै प्रश्नचिन्ह उब्जिने स्थिति बनेको छ। यसले हाम्रा विश्वविद्यालयमा नियुक्ति पाउने पदाधिकारी नैतिकवान छन् कि छैनन् भनेर खोज्नुपर्ने अवस्था आइपुगेको छ। हामीले अहिले पनि असल व्यक्तिलाई जिम्मेवार ठाउँमा पुर्याउन चुक्यौं भने हाम्रो सम्पूर्ण शिक्षा प्राणली नै तहसनहस हुने पक्का छ।
हालको हाम्रो प्रमुख समस्या भनेकै सम्पूर्ण क्षेत्रमा हुने राजनीतिक नियुक्तिहरु नै हुन्। दलहरुको सम्पूर्ण ध्यान राम्रालाई भन्दा हाम्रालाई नियुक्ति दिनमै केन्द्रित छ। जुनसुकै मूल्य चुकाएर भए पनि आफ्ना कार्यकर्तालाई विश्वविद्यालयमा भर्ती गर्ने काम जहिलेसम्म रोकिँदैन, त्यति बेलासम्म यस्ता हर्कत दोहोरिरहने छन्। यस्ता हर्कत दोहोरिनुमा जिम्मेवार निकायलाई उन्मुक्ति दिएर भएका घटनाको मात्रै चिरफार गर्नुभन्दा मूल नै सफा गर्ने अभियानमा लाग्नुपर्ने हुन्छ।
हाल आएर मेडिकल क्षेत्रमा किन विद्यार्थीको खडेरी पर्यो? यसको कारण खोज्नुको साटो मेडिकल कलेजहरु विद्यार्थीसँग मनपरि शुल्क उठाउने अनि प्रवेश परीक्षामै चिट चोराउनेजस्तो घृणित कार्य गर्न पछि नपर्ने प्रवृत्तिले हाम्रो समजमा भोलि आउने डाक्टरप्रति कस्तो दृष्टिकोण रहला? उनीहरु आफैं पनि भोलि कस्तो डाक्टर होलान् भनेर प्रश्न उब्जिनु स्वाभाविक नै हो। जिम्मेवार निकायले यी प्रश्नहरुको जवाफ दिन पनि जरुरी छ।
जोन डिउलीले भनेका छन्- "शिक्षा जीवनको तयारी होइन जीवन नै हो।" कसैले राम्रो शिक्षा पायो भने उसले समाजलाई सही पथ देखाउन सक्छ तर हाम्रोमा शिक्षा दिने जिम्मा पाएकाहरु नै सुरुआतमै गलत पथ प्रदर्शन गर्न लागिपरेका छन्। जीवन जिउन सिकाउने जिम्मा लिएकाहरुले नै समाजमा गलत नजिर स्थापित गरिरहेका छन्। यस सन्दर्भमा केयुले आफूमाथि लागेका आरोप खण्डन गर्न जरुरी देखिन्छ जसमा सम्पूर्ण विश्वविद्यालयको हित हुनुका साथै उसका सर्टिफिकेट लिएकाहरुको इज्जतमा लागेको दाग मेटाउन पनि मद्दत पुग्ने छ। केयुले यथासिघ्र यसमा कदम चालोस्।
twitter@ seeuabhishek