संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेगरी तयारी थालेको खुलासा गरेका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले सरकारले स्थानीय तहकै निर्वाचन पहिले गर्ने तयारी गरिरहेको स्पष्ट पारे। उनले भने,‘सरकारले पहिले स्थानीय तहकै निर्वाचन गर्छ, स्थानीय तह पुनर्संरचना आयोगले रिपोर्ट दिने बित्तिकै हामी निर्वाचनको तयारीमा जुट्छौं ।’
साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको निर्वाचन सम्पन्न गर्ने सरकारको तयारी रहेको बताए। उनले सरकारले सकेसम्म चैत्रभित्रै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्य लिएको समेत स्पष्ट पारे। उनले आयोगले दिएको रिपोर्ट सरकारले बुझ्ने समेत स्पष्ट पारे।
उनले प्रतिपक्षी दलको संसद अवरुद्धका कारण निर्वाचनसम्बन्धी विद्येयक तथा ऐनहरु पनि संसदमा टेबुल हुन नपाएको गुनासो पोख्दै भने,‘अहिले संसद अवरुद्ध छ, खुलाउन प्रधानमन्त्री र सभामुखले पहल गरिरहनुभएको छ।’
उनले संसदको जारी गत्यावरोधपनि आगामी ७ गते बिहानभित्रै हल हुने विश्वास व्यक्त गरे। मन्त्री पाण्डेले भने,‘सभामुखको कार्यकक्षमा भएको तीन दलको बैठकलाई विचार गर्दापनि ७ गते बिहानसम्म सहमति हुन्छ भन्ने विश्वास छ।’
उनले मधेशी मोर्चा लगायत थारुहरुपनि चुनावमा सहभागी हुनेमा सरकार विश्वस्त रहेको बताए। मधेशी, जनजाति, आदिवासीहरुको समस्या समाधान गर्न सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको र संसदको कार्यसूचीमा परिसकेकोले यो प्रस्ताव कुनै हालतमा फिर्ता नहुने उनले बताए।
संशोधन प्रस्ताव परिमार्जनको लागि बहस गर्न सकिने तर फिर्ता नहुने भनेर स्वयम् प्रधानमन्त्रीले पनि बोलिसकेकोले प्रस्ताव फिर्ता नहुने मन्त्री पाण्डेले बताए।