समाज, संरक्षण र समृद्धि भन्ने नाराका साथ आगामी पुस ११ देखि १५ गतेसम्म चितवनको सौराहामा हात्ती महोत्सव हुने भएको छ। आन्तरिक र बाह्य पर्यटन प्रवर्दन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको काठमाडौंमा पत्रकार सम्मेलन गरिएको जानकारी दिइएको हो।
लोप हुँदै गएको हात्तीको संरक्षण र महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा जागरण ल्याउन महोत्सवको आयोजना गरिएको हो।
महोत्सवमा आगन्तुकहरुलाई मनोरञ्जन र हात्तीका विविध पक्षको बारेमा जानकारी दिन विगतमा जस्तै हात्ती दौड प्रतियोगिता पनि समावेश गरिएको छ।
हात्तीको पिकनिक, हात्तीपोलोलगायत विभिन्न प्रतियोगितात्मक कार्यक्रम पनि संचालन गरिनेछ। त्यसैगरी मेलाको आकर्षणको रुपमा हात्तीका छावाहरुबीच फुटबल प्रतियोगिता सञ्चालन गर्ने आयोजकले जनाएको छ।
नेपाल पर्यटन बोर्डको प्रवर्धनमा हुन लागेको हात्ती महोत्सवमा चितवनका विभिन्न संघ संस्थाले सहभागिता जनाउने छन्।