आफूलाई मानवअधिकार निगरानी समितिको सदस्य रहेको बताउँने दधिराम धितालले आफ्नै छिमेकीले उपभोग गर्दे आएको करिब ३ कठ्ठा जग्गा किर्ते गरी आफ्नो नाममा कायम गरेको खुलेको छ।
झापा धरमपुर–९ घर भएका धितालले छिमेकीहरू वीरबहादुर खुलालको १० धुर र सोही ठाँउका श्रीप्रसाद खरेल, खेमप्रसाद बाँस्कोटा, भेटमाया नेम्बाङ र चन्द्रकला भट्टराईको २ कठ्ठा ५ धुर जग्गा किर्ते गरी आफ्ना नाममा कायम गरेको घट्ना बाहिर आएको हो।
धितालले छिमेकी खुलाल बस्दै आएका कित्ता नम्बर २०६६ नम्बरको १० धुर नम्बरी जग्गा समेत जालसाझ गरी आफ्नो नाममा बनाएका थिए। २०५१ सालमा तत्कालिन सुकुम्बासी समस्या समाधान आयोगबाट छिमेकीले उपभोग गर्दे आएको ऐलानी जग्गाहरू आफ्नो नाममा कायम गराएका थिए।
धरमपुर वडा नम्बर ८ को वडा नागरिक मञ्चका सदस्य समेत रहेका धिताल मानवअधिकार निगरानी समिति धरमपुरका सदस्यसमेत हुन्। भूमाफिया चर्तिकला बाहिर आएपछि उनी एक सातादेखि वेखवर छन्। किर्ते गरेको जग्गा फिर्ता गराउन गाँउलेहरुले दबाब सृजना गर्न थालेपछि धिताल गत मंसिर २५ गते एकाएक सम्पर्कबिहीन भएर गुपचुप बस्दै आएको स्थानीयवासीले बताएका छन्।
गत मंसीर २५ गते झिलझिलेस्थित इलाका प्रहरी कार्यालयमा भएको सोही विषयको छलफल हुँदा आफूले छिमेकीका जग्गा नियम संगत ढंगले नै फिर्ता गराउने सहमति भए लगत्तै धिताल फरार भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
‘धितालले सामाजिक रूपमा छिमेकीका भोग्दै आएका ऐलानी जग्गा नियमानुसार दिने सहमति भएको थियो’, बुधबार सोही ठाँउमा बसेको सर्वपक्षीय भेलामा सहभागी धरमपुरका अग्रज चन्द्रवीर नेम्बाङले भने,–‘ अवैध ढंगले जग्गा जालसाझी गर्ने मनसायबाट धितालले छिमेकीलाई ठगे, हामी पीडितलाई सामाजिक न्याय तथा कानुनी न्याय दिन लागेका छौ।’
लामो समय रोजगारीका क्रममा खाडी मुलुक गएका खुलालले केही महिना अघि पूरानो घर भत्काएर पक्की घर बनाउँदा धितालले जग्गा हड्पेको घटना बाहिर आएको थियो। पीडित खुलालका अनुसार घर बनाउँदा धितालले धम्की दिँदै आफ्नो नाममा रहेको जग्गा आफ्नै भएको दाबी गर्दै आएपछि धितालको भूमाफियाको रहस्य सार्वजनिक भएको हो।
‘धितालले जग्गा मेरो नाममा भएको भन्दै घर बनाउन नदिने जस्ता धम्की दिदै आए, सरकारी अमिनी आएर फिल्ड हेर्दा धितालको माफिया चलखेल पुष्टि भयो’, पीडित खुलालले सेतोपाटीसँग भने, ‘यसरी छिमेकीलाई उठिबास गराउने माफियालाई हदैसम्मको सजाय हुनुपर्छ।’
उदयपुरको गाईघाटबाट बसाइसरी धरमपुर आएका धितालले बस्नका लागि शर्मानन्द ढुङगानाबाट त्यहाँ १० धुर मात्र जग्गा किनेका थिए। धितालले अहिले घरवरिपरि १ कठ्ठा ५ धुर जग्गा भोगचलन गरिआएका खुलेको छ। स्थलगत जग्गा नाँप जाँच गर्दा धितालले किर्ते गरी त्यतिका जग्गा हड्पेको देखिएको छ’, वडा नागरिक मञ्चकी संयोजक समेत रहेकी इन्द्रकुमारी पाण्डेले भनिन्,–‘ धितालले किर्ते जालसाझ गरी छिमेकी माथि अन्याय गरेका छन्।’
यसैबीच बुधबार सम्पन्न सर्वपक्षीय भेलाले जग्गा किर्ते गरी सर्वसाधारणहरुका जग्गा हड्प्ने धितालले पीडितहरुका जग्गा फिर्ता दिनुपर्ने निर्णय गरेको छ। सो निर्णय कार्यान्वयन गराई सहयोग पुर्याइदिन सरोकारवाला पक्ष, निकायसम्म त्यसबारे पत्राचार गर्ने निर्णयमा उल्लेख छ।
निर्णयको बोद्यार्थ धरमपुर गाविस, मालपोत, नापी कार्यालय दमक, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दलहरुलाई समेत स्थानीयवासीले दिएका छन् ।