नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले विद्यमान राजनीतिक समस्याको निकासका लागि निर्वाचन गराउनु नै फराकिलो मार्ग भएको बताएका छन्।
रेडियो नेपाल कर्मचारी युनियनको सातौँं अधिवेशनको आज सिंहदरबारमा उद्घाटन गर्दै उनले संविधान कार्यान्वयनमा जानुपर्ने समयमा सरकारले संशोधनको प्रस्ताव ल्याएर अस्थिरता निम्त्याउन खोजिएको आरोप लगाए।
उपाध्यक्ष रावलले तीनवटै तहका निर्वाचन सम्पन्न गरेपछि आवश्यकता महसुस हुँदा देश र जनताको हित र मागका आधारमा संविधान संशोधन गर्न सकिने बताउँदै उनले भने, 'निकासका लागि निर्वाचन नै फराकिलो ढोका हो।'
आर्थिक विकास, स्थिरता र मुलुकको समृद्धि नै सबैको चाहना हुनुपर्नेमा उनले जोड दिए।
रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक अशोक बाँस्कोटाले रेडियो नेपाललाई सार्वजनिक प्रशारण संस्थामा विकसित गर्ने सरकारको नीति कार्यान्वयन हुनुपर्ने अपेक्षा गरे।
पेसागत महासङ्घ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेल, सार्वजनिक संस्था कर्मचारी सङ्गठनका अध्यक्ष गोविन्द पौडेल, आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्यप्रसाद ढकाल, सङ्गीतकार टीका भण्डारी, नेपाल पत्रकार महासङ्घ, शाखा अध्यक्ष दुर्गा फुयाँललगायतले अधिवेशन सफलताको कामना गरे। रासस