चोरी मुद्दामा नौ वर्ष कैद र करिब एक लाख रुपैयाँ जरिवाना फैसला भएका फरार दोषीलाई १६ वर्षपछि दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
विसं २०५७ असोज २ गते गोबरडिहा गाविस–५ का धनेश्वर अर्यालका घरमा चोरी गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले गोबरडिया–५ पचाहवाका ३६ वर्षीय प्रकाश चौधरीलाई नौ वर्ष कैद र ९९ हजार ७२ रुपैयाँ जरिवाना फैसला गरेको थियो।
फरार व्यक्ति पक्राउ, गुण्डागर्दी तथा तस्करी नियन्त्रणको अभियान थालेको जिल्ला प्रहरी कार्यालय दाङले चौधरीलाई घरबाटै पक्राउ गरेर कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए।
यसैबीच जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक जनालाई करिब साढे चार वर्षपछि पक्राउ गरिएको छ। विसं २०६९ असार २६ गते अर्घाखाँची जलुके–६ बस्ने सुमन कुमाल एक किशोरीलाई जबर्जस्ती करणी गरी भागेका थिए ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको विशेष प्रहरी टोलीले गोबरडिहा–१ जुरैनीस्थित चिसापानीबाट कुमाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ । रासस