रुपन्देहीको देवदह क्षेत्रमा आइतबार दुईवटा पुलको शिलान्यास गरिएको छ।
देवदह नगरपालिका केरवानी र नवलपरासीको सुनवल उखुबारी जोड्ने कजहरार नदीमा र देवदह–३ वसन्तपुर र तिलोत्तमा नगरपालिका–१५ भाटा जोड्ने रोहिणी खोला पुलको नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले शिलान्यास गरे। ती पुल जिल्लाको ग्रामीण क्षेत्रमा पर्दछन्।
डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीका अनुसार देवदह नगरपालिकाको वसन्तपुर र तिलोत्तमा नगरपालिकाको भाटा बजार जोड्ने रोहिणी खोला पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ भने निर्माण कम्पनीले १० करोड एक लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता पनि गरेको छ ।
पुल १२० मिटर लम्बाइको पुल र तटबन्ध निर्माण भएपछि आवतजावतमा सुविधा पुग्नुको साथै नदी कटान नियन्त्रण हँुदा खेत र बस्ती सुरक्षित हुने विश्वासले स्थानीय निकै उत्साहित भएका छन् ।
यस्तै उता देवदहको केरवानी र नवलपरासी सुनवलको उखुबारी जोड्ने ४२ मिटर लामो कजरार नदी पुल अबको दुई वर्षमा निर्माण हुने सम्झौता भएको छ । मैनाचुली सत्यसाई अन्जना जेभीले रु सात करोड ४२ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । रासस