पाटन दरबार स्क्वायर पुनःनिर्माणमा झन्डै ६० प्रतिशत पुराना काठ र अन्य सामग्री प्रयोग हुने भएको छ।
भूकम्पपछिको पुनःनिर्माणका क्रममा पुरातात्विक महत्व कम हुन नदिन प्रयोग गर्न सकिने काठका कलात्मक भागलाई पुनःप्रयोग गर्न लागिएको हो।
काठसँगै झिङ्गटी, इँटालगायतको सामग्रीे पुनःप्रयोग गर्न सकिने पाटन स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयले बताएको छ। कार्यालयका प्रमुख काजी प्याकुरेलले झ्याल, ढोका, छानालगायतमा प्रयोग भएका काठलगायतका सामग्री प्रयोग गर्न सकिने अवस्थामा रहेको बताए।
भूकम्पका समयमा क्षति पुगेका स्मारकका महत्वपूर्ण भागको अहिले मर्मत भइरहेको छ। सम्पदाको पुनःनिर्माण गर्दा पुरानो स्वरुप बिग्रन नदिने कुरामा ध्यान दिइन्छ। प्रयोग हुनेसम्मका पुरानै र प्रयोग गर्न नसकिने अवस्था भएमात्र स्वरुप नबदलिने गरी नयाँ सामग्रीको प्रयोग हुने बताइएको छ।
झिङ्गटी र इँटा दुवै नयाँ निर्माणमा प्रयोग गर्न सकिने उनी बताउँछन् । झिङ्गटी पुरानो हुँदा पनि पुनःप्रयोग गर्न सकिने हुँदा नफुटेको प्रयोग गर्न लागिएको हो। सम्पदाको पुनःनिर्माणका क्रममा प्रयोग गर्न मिल्ने सामग्रीको पुनःप्रयोग हुने विश्वव्यापी मान्यता छ।
पूरै नयाँ काठबाट मन्दिरको एउटा ठूलो ढोका बनाउन दुई जना कामदारलाई झन्डै आठ महिना लाग्छ। समयमा काठ नपाउँदा अझै समय लाग्न सक्छ। पुरानो मर्मत गरेर प्रयोग गर्दा एक महिनामा नै काम सम्पन्न हुन्छ।
स्मारक भत्कँदा कतिपय भाग फुटेर बिग्रिएका छन, ती चिजलाई सङ्ग्रहालयमा संरक्षण गरेर राखिने प्रमुख प्याकुरेलले बताए।
ललितपुर संरक्षित स्मारक क्षेत्रअन्तर्गतका सम्पदाको पुनःनिर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। आगामी पाँच वर्षमा काम पूरा गर्ने गरेर काम अघि बढेको हो। विश्व सम्पदा सूचीमा समेत सूचीकृत यस क्षेत्रका कतिपय स्मारक पूर्ण क्षति र कतिपय आंशिक क्षति भएका थिए।
भूकम्पअघि नै काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले पुनःनिर्माणको काम गर्दै आएको थियो। केभिपिटीले भूकम्पपछि पुरातत्व विभाग र कार्यालयको स्वीकृतिमा थप स्मारक पुनःनिर्माणको जिम्मा लिएको छ। रासस