प्रमुख तीन दलले नयाँ संरचनामा स्थानीय तहको निर्वाचन गराउने बारे छलफल गरेका छन्। काँग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै ठूला दल स्थानीय तहकै निर्वाचन गराउने विषयमा सकारात्मक भएको नेताहरूले बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सिंहदरबारमा बुधबार तीन दलको बैठक बसेको थियो।
बैठकमा प्रधानमन्त्रीले संसदको अवरोध हटाएर संविधान संशोधनको विषय प्रक्रियाबाटै टुंगो लगाउन प्रमुख प्रतिपक्षलाई आग्रह गरेका थिए। उनले संविधान संशोधन, निर्वाचन, निर्वाचन सम्वन्धी विद्येयक, लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव एवम् स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन लगायतका विषयमा प्रमुख दलबीच समझदारी बनाएर अघि बढ्न आग्रह गरेका थिए। बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेका विषयहरुमाथि गम्भीर र सकारात्मक रुपमा छलफल अघि बढेकाले छिट्टै प्रमुख दलहरुको बैठक बससी सहमति जुटाउने निष्कर्ष निकालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यसअघि दलहरुबीच स्थानीय तह र निकायको निर्वाचनबारे विवाद थियो। आजको बैठकमा तीनै दलका शीर्ष नेताहरुले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन समेत तयार भईसकेकाले स्थानीय तहकै निर्वाचनमा जान उपयुक्त हुने निष्कर्ष निकालेको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
स्थानीय तहकै निर्वाचन गराउन काँग्रेस पनि तयार भएको एमाले उपाध्यक्ष भीम रावलले बताए। उनले आफ्नो पार्टी जुनसुकै तहको निर्वाचनमा जान पनि प्रतिवद्ध रहेको बताए।
त्यसैगरी बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले संसद अवरोध नगर्न विपक्ष एमालेलाई आग्रह गरेका थिए। संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि त्यसलाई टुंगोमा पु¥याउन दिनुपर्नेमा आफ्नो पार्टीले जोड दिएको काँग्रेस नेता एवम् उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए।
प्रमुख प्रतिपक्ष एमालेले संविधानले निषेध गरेको विषय पनि संविधान संशोधन प्रस्तावमा रहेको भन्दै त्यसलाई संसदमा प्रवेश गराउन नदिने अडान राख्दै आएको छ। प्रदेशको सीमांकन हेरफेर सम्बन्धित प्रदेश सभाले नै गर्ने संवैधानिक प्रावधानविपरित सरकारले संविधानको दोस्रो संशोधन विधेयक ल्याएकाले त्यसलाई छलफल गर्न समेत नदिने भन्दै एमालेसहितका विपक्ष दलहरुले एक महिनायता संसद अवरुद्ध गर्दै आएका छन्।
सत्ता साझेदार काँग्रेसले निर्वाचनको मिति तत्काल घोषणा भए संसद बैठक पुनः सुरु गराउन एमाले बाध्य हुने तर्क गर्दै आएको छ।
*सच्याइएको