तपाईंका नानीहरु सानै उमेरदेखि पढाइ वा अतिरिक्त क्रियाकलापमा चलाख हुन सक्छन्। तर, के उनीहरुले आफ्नो जीवन सहज बनाउन र प्रतिस्पर्धी हुन आधारभूत सीप हासिल गर्दैछन्?
स्ट्याण्डफोर्ड विश्वविद्यालयकी डिन जुली लिथकोटले नानीहरुले १८ वर्ष पुग्दासम्म असल र आत्मनिर्भर जीवन बिताउन हासिल गरिसक्नुपर्ने सीपबारे सुझाव दिएकी छन्। कोरा डट कममा प्रकाशित उनको सुझाव पश्चिमी समाजमा मात्र होइन हाम्रो नेपाली समाजमा पनि सहज जीवन बिताउन उत्तिकै आवश्यक छ।
प्रस्तुत छ उनका सुझाव:
१) १८ वर्ष उमेर पुग्दासम्म तपाईंका केटाकेटीले अपरिचित व्यक्तिसँग कुरा गर्ने क्षमता विकास गरिसक्नुपर्छ। क्याम्पसका अध्यापक, डिन, सल्लाहकार, घरवाला, विभिन्न संस्थाका कर्मचारी, मानवीय श्रोत प्रबन्धक, बैंकका कर्मचारी, मेकानिक्स, स्वास्थ्य सेवा प्रदायक आदिबाट एक्लै सेवा लिन सक्नुपर्छ।
हामी भने आफ्ना नानीलाई अपरिचितसँग कुराकानी गर्ने कला सिकाउनेभन्दा उनीहरुबाट टाढै रहनुपर्छ भन्ने सिकाउँछौं। संसारमा अधिकांश मानिस असल नै हुन्छन्, थोरै मात्र खराब हुन्छन्। त्यस्ता खराब मानिसलाई चिन्ने कला हामीले आफ्ना छोराछोरीलाई सिकाउनुपर्छ। नत्र भने हाम्रा छोराछोरीले नौला मानिससँग सद्भावपूर्ण ढंगले कुरा गर्न र उनीहरुबाट सहयोग तथा मार्गदर्शन लिन जान्दैनन्। समाजमा सहज जीवन बिताउन यस्ता कला महत्वपूर्ण हुन्छन्।
२) १८ वर्ष उमेर पुग्दासम्म केटाकेटीहरु आफू पढ्ने क्याम्पस वा इन्टर्नसिप गर्ने स्थानसम्म एक्लै आउजाउ गर्न त्यहाँको बाटो वा सहरबारे जानकार भैसक्नुपर्छ।
हामी भने बाहिर निस्कँदा आफ्ना छोराछोरीलाई साथै लिएर निस्कन्छौं। गाडी वा मोटरसाइकलमा उनीहरुले भनेको ठाउँसम्म पुर्याइदिन्छौं। जबसम्म हामी उनीहरुलाई स्वतन्त्र हिँडडुल गर्न छाड्दैनौं, तबसम्म उनीहरु आत्मनिर्भर हुन सक्दैनन्। न उनीहरुलाई बाटोको ज्ञान हुन्छ न त यातायातका विकल्पकै बारेमा थाहा पाउँछन्। यसले उनीहरुलाई समाजमा सक्षम रुपले उभिन सक्ने बनाउँदैन।
३) १८ वर्ष पुग्दासम्म केटाकेटीले आफ्ना काम के हुन्, कामको बोझ कति छ र त्यसको समयसीमा के हो भन्नेबारे ज्ञान हासिल गरिसक्नुपर्छ।
हामी भने उनीहरुको काम वा गृहकार्य कहिले गर्ने र के गर्ने भनेर सम्झाइ रहन्छौं। कहिलेकाहीँ त उनीहरुको काम हामी आफैं गरिदिन्छौं। यसो गर्दा कुन कामलाई कस्तो र कसरी प्राथमिकता दिने, कामको बोझ कसरी थेग्ने र समयसीमाभित्र कसरी काम सक्ने भन्ने निर्णय गर्न उनीहरुसँग क्षमता हुँदैन।
४) १८ वर्ष पुग्दासम्म उनीहरुले घरायसी काममा योगदान पनि दिन सक्ने भैसक्नुपर्छ।
हामी भने घरायसी कामका लागि केटाकेटीसँग सहयोग माग्दैनौं। उनीहरु पढाइ र अतिरिक्त क्रियाकलापमै व्यस्त रहन्छन्। परिणामस्वरूप हाम्रा छोराछोरी आफ्ना आवश्यकता कसरी पूरा गर्ने, अरुका आवश्यकताको कसरी सम्मान गर्ने र सबैको भलाइमा आफूले कसरी योगदान दिने भन्नेबारे अनभिज्ञ रहन्छन्।
५) १८ वर्ष पुग्दासम्म केटाकेटीले आफ्ना सम्बन्धहरुमा आएका समस्यासँग जुध्ने तरिका सिकेको हुनुपर्छ।
हामी भने उनीहरुको सम्बन्धमा आएका समस्या हल गर्न आफैं तम्सिहाल्छौं। उनीहरुको भावनामा चोट परेको छ भने पनि आफैं मलमपट्टी लागाउन अघि सर्छौं। परिणामस्वरूप उनीहरुलाई अभिभावकको हस्तक्षेपबिनै द्वन्द्व कसरी समाधान गर्ने र आफ्ना भावनासँग कसरी जुध्ने भन्ने थाहा हुन्न।
६) १८ वर्ष पुग्दासम्म उनीहरुले आफ्ना पढाइ लगायतको उतारचढाव, कामको बोझ, कलेजको कार्य, प्रतिस्पर्धा, कडा शिक्षक, हाकिम लगायतबाट कसरी पार पाउने भन्नेबारे जानकार भइसक्नुपर्छ।
हामी भने आफ्ना छोराछोरीलाई गाह्रो हुन्छ भनेर उनीहरुको काम सजिलो बनाउन, कामको समयसीमा बढाउन र समस्यामा परेका व्यक्तिसँग कुरा मिलाइदिन आफैं अघि सर्छौं। परिणामस्वरूप हाम्रा छोराछोरीलाई जीवन सधैं आफूले भनेजस्तो हुन्न भन्ने ज्ञान हुँदैन। अझ आफूले भने जस्तो भएन भने पनि त्यसमा धेरै असन्तोष गर्नुहुन्न भन्ने उनीहरुले थाहा पाउँदैनन्।
७) १८ वर्ष पुग्दासम्म पैसा कमाउने वा कसरी खर्च गर्ने भन्नेबारे जानकार हुनुपर्छ।
हामी भने आफ्ना छोराछोरीले ‘पार्ट-टाइम’ जागिर खाओस् भन्ने नै चाहँदैनौं। उनीहरु आफूलाई चाहिएको वा आवश्यक परेको पैसा अभिभावकबाटै प्राप्त गर्छन्। परिणामस्वरूप केटाकेटीले प्रतिस्पर्धात्मक जागिर प्राप्त गर्न तयारी गर्नुपर्छ भन्ने महशुस गर्दैनन्। आफ्ना हाकिमप्रति कस्तो जिम्मेवारी हुन्छ भन्नेबारे उनीहरुमा उत्तरदायित्वको भावना हुँदैन। बाबुआमाजस्तो आफ्ना हाकिमले माया गर्दैनन् भन्ने उनीहरुले बुझ्दैनन्। त्यस्तै पैसाको महत्व र कसरी खर्च गर्ने भन्नेबारे उनीहरुलाई थाहै हुँदैन।
८) १८ वर्ष पुग्दासम्म उनीहरु जीवनमा आइपर्ने विभिन्न जोखिम मोल्न सक्ने अवस्थामा पुगिसक्नुपर्छ।
हामी भने आफ्ना नानीहरु सबै किसिमका जोखिमबाट मुक्त होउन् र कुनै किसिमको बाधा अड्चन सामना गर्नु नपरोस् भनेर आफैंले उनीहरुको बाटो तय गरिदिन्छौं। परिणामस्वरूप हाम्रा नानीहरुले सफलता भनेको कोशिस गरेर, असफल भएर र फेरि कोशिस गरेर मात्र प्राप्त हुन्छ वा चाहेजस्तो नभए पनि त्यसलाई सामना गरेर जिन्दगीसँग लड्ने क्षमता वृद्धि हुन्छ भन्ने बुझ्दैनन्।
१८ वर्ष पुगिसकेका नानीहरुले यस्ता काम बाबुआमाको सहयोगबिनै गर्न सक्ने क्षमता विकास गर्नुपर्छ। उनीहरु त्यस्ता कार्य कसरी गर्ने भनी बारम्बार तपाईंलाई सोधिरहन्छन् भने बुझ्नुस् उनीहरुले सहज जीवन कसरी बिताउने भन्नेबारे आधारभूत सीप विकास गरेका छैनन्।