त्यो मेरो पहिलो वनारस यात्रा थियो, पाँच वर्षअघि। दिल्लीस्थित साहित्य अकादमीले आयोजना गरेको ‘काशीबहादुर श्रेष्ठ शतवार्षिकी समारोह’ को रिर्पोटिङ गर्न हामी त्यता पुगेका थियौं।
वनारसमा पहिलो नेपाली भाषाको पत्रिका ‘उदय’ (सन् १९३७) का सम्पादक–प्रकाशक स्वर्गीय काशीबहादुर श्रेष्ठलाई सम्झँदै यात्रा गर्नेहरूमा प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति बैरागी ‘काइँला’, डा. तारानाथ शर्मा, डा. अभि सुवेदी, डा. कुमार कोइराला थिए। र, त्यसै टोलीमा थिए नेपाली भाषा साहित्यका हस्ती कमलमणि दीक्षित।
त्यो यात्रामा दीक्षितका यत्रतत्र नियालिरहेका आँखा र अभिव्यक्तिले विशेष महत्व राख्दै थियो। सामुन्ने देखिएका कुरालाई विद्यार्थी कालको वाराणसीसँग तुलना गर्दै र रोचक अनुभूतिहरू सुनाउँदै गर्दा वयोवृद्ध दीक्षित पग्लिरहेका देखिन्थे।
साँघुरा गल्ली, सुट लगाएर हिँड्दा पनि निधारभरि चन्दनको लेप घसेका मानिस, पुराना घर र मोहल्ला, जताततै ढसमस्स बसेका साँढे, पान, चिया र मिठाइ। जहिले पुग्दा पनि उहिलेदेखिको उस्तै वनारस भेट्नेहरूका निम्ति दीक्षितका अनुभवबाट भने यो प्राचीन सहर पनि कसरी चलमलाइरहेको छ भन्ने खुलिरहेको थियो।
‘मेरो साहित्यिक जन्म गराउने पिता काशीबहादुर श्रेष्ठ नै हुन्,’ भोलिपल्टै गोलघरस्थित प्रेसक्लब भवनमा आयोजित समारोहको सभापतित्व गरेका दीक्षितले भनेका थिए, ‘उदय पत्रिकाबाटै मेरो लेखन यात्रा थालनी भएको हो।’
त्यो समय दीक्षित दरबार हाइस्कुलकै विद्यार्थी थिए। नौ कक्षामा पढ्ने १५ वर्षे विद्यार्थीले भर्खरै वनारसबाट काठमाडौं आइपुगेको ‘उदय’ देखेका थिए। उनले बाल्यकालका मिल्ने साथी विष्णुप्रसाद धिताल र आफ्ना कविता हुलाकबाट वनारस पठाए। लगत्तैको अंकमा दीक्षितको कविता भने छापिएछ।
नेपाल र भारतभर छरिएर रहेका नेपाली भाषासेवी विद्वानहरूको त्यस भेलामा दीक्षितले उनको जीवनकै त्यो पहिलो साहित्यिक कृति ‘पुतली’ को वाचन गरेर समेत सुनाएका थिए।
‘त्यतिबेला वनारसबाट निस्कने पत्रिकामा मेरो कविता छापिएपछि हर्षको सिमाना रहेन,’ उनले भनेका थिए, ‘त्यसपछि पनि मेरा केही कविता उदयमा छापिए। र, अगाडिको यात्रा त्यसैबाट सुरु भयो।’
संयोगले यी हरफ लेख्दै गर्दा काशीबहादुर श्रेष्ठका छोरा दुर्गाप्रसाद श्रेष्ठ अहिले काठमाडौं आइपुगेका रहेछन्।
‘म स्कुलको विद्यार्थी छँदै दीक्षित काशी हिन्दु (बनारस) विश्वविद्यालयमा उच्च शिक्षाको निम्ति आउनुभयो,’ यतिबेला पनि सम्पादक–प्रकाशकका रूपमा उदयलाई निरन्तरता दिइरहेका दुर्गाप्रसादले थपे, ‘वनारस बसेर पढुन्जेल मेरो बुबासँग भेट्न र उदयलाई सघाउन उहाँ बारम्बार आइरहनु हुन्थ्यो।’
यसरी वनारस कनेक्सनमार्फत् नेपाली भाषा र साहित्यसँग लगनगाँठो जोडेका दीक्षितले त्यसपछि भने अनवरत यसको सेवा गरेरै जीवन बिताए।
उनका बारेमा बुझ्न वनारस यात्राकै अर्का हस्ती बैरागी काइँलालाई मैले सम्पर्क गरेँ।
‘काठमाडौं आएका बेला दीक्षितजीले नै जोडबल गरेर मेरा कविताहरू जम्मा पार्न लगाउनुका साथै २०३० सालमा प्रकाशित गराइदिनुभएको थियो,’ काइँलाले थपे, ‘मलाई त्यही संग्रह ‘वैरागी काइँलाका कविता’ले कविका रूपमा आजसम्म चिनाउने काम गर्दै आएको छ।’
काइँलाका अनुसार त्यतिबेला दीक्षित खुदै साझा प्रकाशनका अध्यक्षसमेत थिए र लगत्तैको साझा पुरस्कार पनि उनकै कविता संग्रहलाई प्रदान गरिएको थियो। ‘म जस्ता लेख्ने मानिसलाई मात्र होइन सिंगो नेपाली भाषा साहित्यलाई योगदान दिने मानिस हुनुहुन्थ्यो,’ उनले थपे, ‘मोतीराम भट्टपछि त्यस किसिमको योगदान दिने व्यक्तिका रूपमा दीक्षितलाई म बाँचुन्जेल सम्झिरहनेछु।’
कमलमणि दीक्षित आबद्ध रहेका संघ–संस्था हिसाब गर्ने हो भने लामै सूची निस्कन्छ। तर, मदन पुरस्कार पुस्तकालय, मदन पुरस्कार गुठी र २०१६ सालदेखि उनकै सम्पादनमा अनवरत प्रकाशित हुँदै आएको त्रैमासिक ‘नेपाली’ अग्रस्थानमा उभिन्छन्।
२०१० सालमा मदनशमशेरको निधन भएपछि लगत्तै स्थापित मदन पुरस्कारले सबैभन्दा पहिले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गरेको थियो। लेखनका क्षेत्रमा मुलुककै सबैभन्दा महत्वपूर्ण यो पुरस्कार तीनपटकसम्म प्राप्त गर्ने एकमात्र लेखकको उपाधि पनि उनै जोशीसँग छ।
‘हत्तेरिका के सुन्नुपरेको? कस्तो नमिठो खबर सुनाउनु भयो,’ आँगनमा घाम ताप्दै गरेका ९७ वर्षीय जोशीले दीक्षितको सूचना पाएपछि एकछिनसम्मै जिब्रोले चुकचुकाउँदै नरमाइलो अनुहार लगाए। जोशीले छेवैमा रहेकी श्रीमतिलाई पनि नेवारीमा यो जानकारी सुनाए र फेरि स्तब्ध बने।
मदन पुरस्कारको साइनो मात्र होइन, एउटै ठाउँ ललितपुरमा उभिएर मुलुकमै शिखर पहिचान बनाएका दुई वरिष्ठको नाता पनि त्यहाँ थियो। त्यसैले जोशी पुरानै सम्झनाबाट दीक्षितलाई चिनाउन थाले।
‘त्यतिबेला भर्खर भुइँचालो गएको काठमाडौं थियो,’ भने, ‘म कुपण्डोलको बाटो भएरै कलेज पढ्न जाँदा स्कुलको झोला बोकेर दरबार हाइस्कुलतर्फ लाग्दै गरेका दुई जना विद्यार्थीलाई जहिल्यै देख्थेँ।’
जोशीले सम्झना गरेका ती दुई स्कुले उही पुराना साथी दीक्षित र विष्णुप्रसाद धिताल थिए।
‘गैह्रीधारामा जन्मे पनि पछि आएर डायमण्ड शमशेरको नजिकै सामान्य झिंगटी घरमा दीक्षितहरू बसोबास गर्न थालेका थिए,’ जोशीले भने, ‘त्यो ठाउँ भनेको अहिले हिमालय होटलको ठीक सामुन्नेको थुम्को हो।’
जोशीका अनुसार चन्द्रशमशेरका छोरा मदनशमशेर र उनकी रानी जगदम्बाको श्रीदरबारमा दीक्षितका पिता केदारमणि आचार्य जागिरे थिए। कामकै हिसाबले अनुकूलता खोज्दै नजिकको बसोबास रोजेको अवस्था थियो त्यो।
त्यतिबेला सम्भ्रान्त विद्यार्थीहरुमा साइकलको निकै प्रचलन रहे पनि दीक्षित सामान्य पहिरनमा पैदल हिँडेकै देखिनुले उनीहरुको आर्थिक अवस्था झल्काउने अनुमान गर्छन् जोशी।
मदनशमशेरको निधनपछि भने एक्लिएकी रानी जगदम्बाको रेखदेखका हिसाबले एकप्रकारको अभिभावकत्व दीक्षित परिवारमा आयो। त्यतिबेला कोलकाता रहेका कमलमणि दीक्षित पनि फर्केर काठमाडौं आएको बताउने जोशीका अनुसार सन्तान नभएकी रानी जगदम्बाको उनी छोरैजस्तो भए।
‘पछि सबै जना दरबारमै सरेको देखियो,’ उनले भने, ‘मेरो दोहोरो चिनजान चाहिँ २०१३ सालमा पहिलो मदन पुरस्कार दिँदाखेरि नै भएको हो।’
गुठी स्थापनालगत्तै पुरस्कारका निम्ति ग्रन्थहरुको आह्वान भएपछि जोशीले पनि ‘हाम्रो लोकसंस्कृति’ पुस्तक बुझाएका थिए।
‘पहिलो पुरस्कारकै निम्ति मेरो पुस्तक छनौट भएपछि उनीहरुले नै मलाई सम्पर्क गरेका थिए,’ उनले थपे, ‘किताब बुझाउन जाँदा सामान्य परिचय भएको कमलमणि दीक्षितसँग त्यसपछि चाहिँ राम्रै चिनजान विकास भयो।’
त्यसपछि पनि थप दुईपटक जोशीले नै मदनपुरस्कार जितेपछि यो पुरस्कार गुठीले ‘अब उपरान्त एउटै लेखकलाई दोहोर्याएर पुरस्कार दिइने छैन’ भनेर नीति नै घोषणा गरिदियो। यसरी उक्त पुरस्कार तीनपटक विजेतासँग राम्रो सम्बन्ध नहुने कुरै थिएन। ‘तर, म कामको सिलसिलाबाहेक अरु कुरामा उनीहरुसँग नजिकिन कहिल्यै गइनँ,’ जोशी भन्छन्, ‘त्यसैले चिनजान राम्रै भए पनि घनिष्ट चाहिँ कहिल्यै भइएन।’
पुरस्कार दिइसकेपछि पनि जोशीकै खण्डकाव्य ‘लामा र पाचुके’लाई जगदम्बा प्रकाशनले छापिदिएको थियो। त्यसबाहेक पुरातत्व विभागको निर्देशक रहेका बेला जोशीले गरेको अनुसन्धानमा आधारित पुस्तक पनि त्यसै प्रकाशनबाट छापियो।
‘मदन पुरस्कार र पुस्तक प्रकाशन मात्र होइन,’ जोशी भन्छन्, ‘मेरो व्यक्तित्वलाई विकास गरिदिन अन्य योगदान पनि उहाँबाट भएको थियो।’
नेपाली भाषा र साहित्यको क्षेत्रमा रचनाभन्दा यसको विकासक्रममा गरेको योगदानका निम्ति दीक्षितको बढी सम्झना हुने जोशीको ठहर छ।
‘स्कुले विद्यार्थी हुँदैदेखि खाजा खाने पैसा बचाएर नेपाली भाषामा लेखिएका जे जति भेटिन्छ सबै कुरा जम्मा गर्ने र निजी संकलन तयार पार्ने काम गरेका थिए,’ उनले भने, ‘त्यसरी तयार भएको संकलन ‘कमलको नेपाली संग्रह’ नै कालान्तरमा आज मुलुककै धरोहर बन्न पुगेको मदन पुरस्कार पुस्तकालय हो।’
उतिबेलाका सरकारी कागजातदेखि लिएर चुनावका पर्चा–पोस्टरसम्म जम्मा गरेर जतनले राखिएको यो पुस्तकालय नेपाली भाषा साहित्यमा शोध गर्ने विद्यार्थीहरूका निम्ति महत्वपूर्ण सम्पदा बन्न पुगेको छ।
‘मदन पुरस्कार त व्यक्तिले पाउने कुरा हो,’ तीनपटकका विजेता जोशी भन्छन्, ‘मदन पुरस्कार पुस्तकालयको महत्व त त्योभन्दा कता कता माथि छ।’
यस्ता काम गर्न दीक्षितले सरकारको मुख कहिल्यै नताकेको जोशीले बताए। ‘दस वर्षअघि जगदम्बाश्री पुरस्कारका निम्ति एउटा बैठकमा मलाई बोलाइएको थियो,’ जोशीले सम्झे, ‘त्यतिबेला आफूले नमागे पनि संस्कृति मन्त्रालयले ठूलै धनराशी पुस्तकालयलाई सहयोग दिएको जानकारी पाएर दीक्षित असाध्यै हौसिएको देखेको थिएँ।’
साहित्य वा अन्य कृति लेख्नेले भन्दा दीक्षितले भाषाका क्षेत्रमा गरेको काम असाध्यै महत्वपूर्ण रहेको जोशी औंल्याउँछन्।
‘म नेवारको बच्चाले नेपालीमा लेखेर यो स्थानसम्म आइपुगेँ,’ जोशीले थपे, ‘यस्तो कुराको योगदानकै निम्ति भानुभक्त, मोतीरामदेखि आएर अहिलेका कमलमणिसम्मलाई सम्झने हो।’
पुराना लेखोटदेखि कृतिसम्मको संकलन मात्र होइन, आगामी समयप्रतिको चेतले पनि उत्तिकै काम गरेको थियो।
‘कम्प्युटर प्रविधिको प्रयोगदेखि लिएर नेपाली अक्षर (युनिकोड) तयार पार्ने कामसम्म त्यही पुस्तकालयले गरेको छ,’ जोशी भन्छन्, ‘त्यसबाहेक महत्वपूर्ण कृतिहरूको माइक्रो फिल्मिङ गरेर राख्ने काम पनि उनीहरुले नै सुरु गरे।’
सन्तानविहीन मदनशमशेरको दरबारमा काम गर्ने एउटा परिवारको सदस्य जसले राणाहरुको सम्पत्तिलाई मुलुक र भाषाको विकासमा लगाउनुका साथै शमशेर दम्पत्तिकै नाम अमर पारिदिएकोमा पनि जोशी कृतज्ञता व्यक्त गर्छन्।
‘न मदनशमशेर भाषा साहित्यका मानिस थिए न भारतीय चेली जगदम्बालाई नै नेपाली भाषा र साहित्यमा त्यति साह्रो लगाव थियो,’ जोशी भन्छन्, ‘तर, दीक्षित खलक पनि होइन, केवल कमलमणिजीको लगावकै कारण यत्रा काम भए।’
भाषा साहित्य मात्र नभएर मुलुकमा दक्ष चिकित्सक तयार पार्न उतिबेलादेखि वर्षेनी दुई जना होनहार विद्यार्थीलाई खुला प्रतिस्पर्धाबाट भारतमा पठनपाठनको व्यवस्था पनि गुठीले मिलाउँदै आएको जोशी सुनाउँछन्।
‘यो उपत्यकामा त्यत्रा सम्पत्ति राख्ने एकसे एक चेत भएका राणाजीहरुका सम्पत्ति सबै सन्तानले प्रयोग गरे,’ जोशी भन्छन्, ‘जबकि सन्तानै नभएका मदनशमशेर र रानी जगदम्बाको नाम दीक्षितकै कारण अमर हुनपुग्यो।’
जोशीका अनुसार अर्की श्रीमतिबाट सन्तानको दाबी गर्ने एक जनाले मदनशमशेरको मृत्युपछि हिस्सा लिएर बेचबिखन गरेका थिए। रानी जगदम्बाको भागमा परेको सम्पत्ति पनि धेरैलाई भाग लगाइदिएकी थिइन्। तर, उनीहरुको नाममा यी सबै महत्वपूर्ण धरोहर उभ्याउने काम केवल कमलमणिबाट मात्र भएको थियो।
‘कमलमणिजीका सानातिना कमजोरी पनि नभएका होइनन्,’ जोशीले भने, ‘तर, समाजलाई उनले दिएको योगदानका अघिल्तिर ती सबै फिक्का देख्छु।’
एकपटक त्रैमासिक ‘नेपाली’लाई ‘आर्थिक अभाव’ बताउँदै बन्द गर्ने सूचना निकालेको बेला आफूले कमलमणि दीक्षितलाई स्पष्ट शब्दमा असन्तुष्टि राखेको जोशीले सम्झे। यत्तिको पुरानो र महत्वपूर्ण अनुसन्धानमूलक पुस्तकलाई अझ विस्तार गर्नुपर्नेमा दीक्षितजस्ता मानिसले आर्थिक कारण देखाएर बन्द हुने सूचना निकाल्दा जोशीलाई ‘नबोली भएन’ भन्ने लागेछ।
‘त्यतिबेला उहाँले मेरो कुरालाई नकारात्मक रुपमा लिएर रिसाउनु पनि भयो,’ जोशी भन्छन्, ‘तर, केही समयमै हाम्रो सम्बन्ध फेरि पूर्ववतः सामान्य भएको थियो।’
यसरी निरन्तरता पाएको ‘नेपाली’को २२६ अंकसम्म बजारमा आइसकेको छ। नेपालभित्र मात्रै नभई वनारसमा पनि रानीको नाममा कृति राखिदिएको जानकारी जोशीले दिए।
‘कुन?’ म जिज्ञासु बनेँ।
‘त्यहाँ त्यत्रो धर्मशाला नै छ,’ जोशीले भने।
‘वनारस दूधविनायकको त्यो नेपाली धर्मशाला?’ मैले फेरि जिज्ञासा राखेँ।
‘हो त्यही हो,’ जोशीले भने।
मेरो दिमागमा दीक्षितसँगै बनारस गएका बेला अतिथि बन्दाको त्यो पुरानो नेपाली धर्मशाला फेरि एकपटक घुम्न थाल्यो।
दीक्षितको ८७ वर्ष उमेरमा बिहीबार बिहान २ बजेर ४५ मिनेटमा निधन भएको छ। केही समययता उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो। उनका दुई छोरा (पत्रकारद्वय कुन्द र कनकमणि दीक्षित) र एक छोरी (रुपा जोशी) छन्। बिहीबारै पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उनको अन्त्येष्टि गरिएको छ।