‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’, भन्ने नाराका साथ आइतबार चौथों अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ। दिवसको अवसरमा जागरुक युवा अभियान नेपालले राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गर्यो।
नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरूप विगत तीन वर्षदेखि हरेक अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रूपमा मनाउँदै आएको छ।
टोपी दिवसको आवश्यकता किन भन्ने प्रश्न यतिबेला जल्दोबल्दोरुपमा उठ्ने गरेका छन्। सबै मुलुकको आ–आफ्नै पहिचान झल्किने राष्ट्रिय पोशाक हुन्छ। नेपालमा पनि कुनै बेला दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोशाकका रुपमा लिईन्थ्यो तर गणतन्त्रको आगमनसँगै यसलाई राष्ट्रिय पोशाकको सूचीबाट हटाईएको छ ।
एकातिर यस्तो अवस्था छ भने अर्कोतिर नेपाली समाजले आधुनिकताको नाममा मौलिकपन भुल्दै गएको भन्दै समाजले र्याली र कार्यक्रमको आयोजना गरेको हो।
‘अंग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होईन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने हेतुले टोपी दिवसको सुरुआत गरेका हौ,’ र्यालीमा सहभागी घनश्याम श्रेष्ठले बताए।