मेसी, स्वारेज र नेइमारसहितको बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ।
बार्सिलोना ९ खेलाडीमा सीमित एथ्लेटिको बिल्बाओसँग २–१ ले पराजित भएको हो । एथ्लेटिकोको बिल्बाओका लागि आरिट्ज आडुरिज र इनाकी विलियम्सले गोल गरेका थिए। खेलको २५ औं मिनेटमा आडुरिज र २८ औं मिनेटमा विलियम्सले गोल गरेपछि पहिलो हाफमा घरेलु टोली एथ्लेटिको बिल्बाओले २–० को अग्रता लिएको थियो।
केही दबाबमा देखिएको बार्साका लागि ५२ औं मिनेटमा लियोनल मेस्सीले एक गोल फर्काए । ७४ औं मिनेटमा राउल गार्सिया तथा ८० औं मिनेटमा आन्द्रे टुरास्पे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको बिल्बाओ ९ खेलाडीमा सीमित भयो। यद्यपी बार्सिलोनाले यसको फाइदा लिन सकेन। दोस्रो लेग आउँदो बुधबार नाउ क्याम्पमा हुनेछ।