अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत ललितपुरका एकजना नायब सुब्बालाई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको छ । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।
जिल्ला अदालतमा कार्यरत नायब सुब्बा श्याम अर्याल २ लाख रुपैयाँ घुस लिएको रकमसहित पक्राउ परेका हुन् । अदालतवाट सफाइ पाइसकेका एक व्यक्तिलाई पुनः मुद्दामा फसाइदिने धम्की दिएर तीन लाख रुपैयाँ मागेपछि पीडितले दिएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्।
अर्याललाई अख्तियारको टोलीले सातदोबाटोस्थित बाजेको सेकुवा घरबाट घुससहित नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए । अख्तियारले अदालतकै कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको सम्भवतः यो पहिलो घटना हो ।