न्युजिल्यान्डका बिस्फोटक ब्याट्सम्यान कोरे एन्डर्सनले तीन वर्षपछि आफ्नो ब्याटले अर्को जादु गरेका छन्। उनले सन् २०१४ मा ३६ बलमा सय रन पुरा गर्दै एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो सतक बनाउने ब्याट्सम्यानको इतिहास रचेका थिए।
आइतबार तेस्रो टि–२० क्रिकेटमा बंगलादेशलाई २७ रनले पराजित गर्ने क्रममा एन्डर्सनले ४१ बलमा अविजित ९४ रन बनाए। उनले बंगलादेशलाई ३–० ले क्लिन स्विप गरेको तेस्रो खेलमा १० छक्का प्रहार गरेका थिए। जुन टि–२० मा कुनै पनि ब्ल्याक क्याप्सले एउटै इनिङमा बनाएको सर्वाधिक छक्काको कीर्तिमान थियो।
एन्डर्सन ब्याटिङ गर्न उत्रिनुअघि ६ दशमलव १ ओभरमा न्युजिल्यान्डले ३ विकेटको क्षतिमा ४१ रन मात्र जोडेको थियो। तर, एन्डर्सनले चौथो विकेटका लागि कप्तान केन विलियम्सनसँग मिलेर १ सय २४ रनको कीर्तिमानी साझेदारी गरेका थिए। यी दुवैको साझेदारी शुक्रबार कोलिन मुनरो र टम ब्रुसले गरेको साझेदारीभन्दा एक रनले बढि थियो।
विलियम्सनले ६० रन बनाए। अविजित रहेका कोरे एन्डर्सनले २७ बलमा ५ छक्का र २ चौकाको सहयोगले अर्धसतक पुरा गरिसकेका थिए। पछि उनले ५ छक्का हानेका थिए।
न्युजिल्यान्डले पहिलो ब्याटिङ गर्ने क्रममा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो। प्रत्युत्तरमा बंगलादेशले ६ विकेटको क्षतिमा १ सय ६७ रन मात्र पुरा गर्न सफल भयो।