विश्व फुटबल महासंघ (फिफा) ले सोमबार राती सार्वजनिक गरेको आफ्नो ‘ड्रिम टिम’ मा विश्वका दुई खतरनाक स्ट्राइकर रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लिओनल मेसी सहभागी रहेका छन्।
यी दुई स्ट्राइकरसँगै तेस्रो फरवार्डको रुपमा बार्सिलोनाका लुइस सुआरेजलाई पनि फिफाले आफ्नो ‘ड्रिम टिम’ मा समावेश गरेको छ। फिफाको उत्कृष्ट एघारमा वर्ष खेलाडीको मनोनयनमा परेका एट्लेटिको म्याड्रिडका फ्रेन्च स्ट्राइकर आन्टोन ग्रेजम्यान समावेश छैनन्। उनी टोलीमा अटाउन सकेनन्।
फिफाले सार्वजनिक गरेको टिममा स्पेनिस क्लबको बर्चश्व रहेको छ। जसमा रियल म्याड्रिडबाट ५ तथा बार्सिलोनाबाट ४ खेलाडी समावेश छन्। एक खेलाडी डानी आल्भेसलाई इटालीको युभेन्ट्स क्लबबाट लिइएको छ। युभेन्ट्सका यी डिफेन्डर सन् २०१६ सम्म बार्सिलोनामै थिए। गोलकिपरको रुपमा जर्मनीको वायर्न म्युनिखका कप्तान मानुअल नेउरलाई राखिएको छ। इङ्लिस प्रिमियर लिगका कुनै खेलाडी फिफाको उत्कृष्ट एघारमा अटाउन सकेनन्।