भूकम्पले क्षति पुर्याएका भग्नावशेष र अबका दिनमा भूकम्प प्रतिरोधी आवास निर्माणमा पुर्याउनुपर्ने सावधनीका बारेमा यहाँका समुदायलाई आइतबार साँझ प्रशिक्षण दिइएको छ।
प्रजिअ चोमेन्द्र न्यौपानेका अनुसार राष्ट्रिय भूकम्प दिवसका अवसर पारी सहरी विकास डिभिजन कार्यालय र यहाँ कार्यरत गैरसरकारी संस्थाको सहयोगमा तयार पारिएको यथार्थ तस्बिर र सरकारको मापदण्डअनुरुप अब नयाँ बन्ने आवासका संरचना तथा अपनाउनुपर्ने सावधानी प्रति सचेत र जागरण ल्याउन सार्वजनिक सडकमा प्राविधिक सुझाव प्रदान गरिएको, नयाँ संरचनाअन्तर्गत जगदेखि छानासम्म देखाइएका तस्बिर र प्रविधिको परिभाषाले थप जागरण आएको नागरिक समाजले प्रतिक्रिया दिएको छ।
रसुवा जिल्लामा ११ हजार घर निर्माण गर्नुपर्ने र नौ हजार लाभग्राहीबीच सम्झौता भई एक हजार तीन सय घरपरिवारको गुनासोप्रति छानबिन भइरहेको बताउँदै सहरी विकास डिभिजन प्रमुख राजेन्द्र खतिवडाले ग्रामीण आवास निर्माणको प्रक्रिया अगाडि बढिसकेको बताए।
विसं २०७२ वैशाख १२ मा भूकम्पमा परी निधन भएका ६ सय ८६ जनाको सम्झना गर्दै आइतबार साँझ धुन्चेबजारसहित जिल्लाका विभिन्न भागमा दीप प्रज्वलन गरिएको थियो। रासस