इङ्लिस प्रिमियर लिग क्लबमा आफ्नो अनुबन्धको हल्ला चलिरहेको बेला अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले जति लामो समय आफूलाई बार्सिलोनाबाट खेल्न मन लाग्ने, त्यसका लागि आफू स्वतन्त्र भएको प्रतिक्रिया दिएका छन्।
नोउ क्याम्पमा उनको नयाँ अनुबन्धको असमञ्जस बढिरहँदा मेसीले यस्तो प्रतिक्रिया दिएका हुन्। क्लब अध्यक्ष जोसेप मारिया बार्टोमेउले गत साता एक अन्तर्वार्ताका क्रममा आउँदो वर्षदेखि सकिन लागेको मेसीको अनुबन्ध लम्ब्याउने मुद्धा आफ्नो मतलबको विषय नभएको प्रतिक्रिया दिएका थिए।
स्पेनको केही अखबारले क्लब र आफ्ना प्रतिनिधिबीच ठोस वार्ता नभएकोमा २९ वर्षे मेसी निरास भएको उल्लेख गरेका थिए। यसैको आधारमा सिजनको अन्त्यमा क्लबले मेसीलाई बेच्न सक्ने हल्ला उडेको थियो।
पछिल्लो समय उनको सम्झौताको विषयमा म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सीले बढी चासो दिएका छन्।
सैको सेरोफेरोमा कोच पत्रिकाले मेसीसँग उनी इङ्ल्यान्डको ठूला क्लबमा अनुबन्धित हुने सोचमा हो कि के हो? भनेर प्रश्न गरेको थियो।
जसको जवाफमा उनले भनेका छन्, ‘म सधैं भन्दै आइरहेको छु, बार्सिलोनाले मलाई सबै थोक दिएको छ र उनीहरू (क्लब) ले जहिलेसम्म मलाई यहाँ (नोउ क्याम्प) मा चाहन्छ, म क्लबमै आवद्ध हुन्छु।’
म्यानचेस्टर सिटीमा बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको संलग्नताका कारण मेसी त्यहाँ जान सक्ने अड्कल चलिरहेको छ। क्लबको खराब फर्मका कारण यतिबेला ग्वार्डिओलाको पद पनि धरापमा छ। तर, मेसीले ग्वार्डिओला इङ्ल्यान्डमा सफल हुने विश्वास व्यक्त गरेका छन्।
‘गत सिजनले नै देखाइसकेको छ, इङ्लिस लिग निकै प्रतिस्पर्धात्मक छ, त्यसैले भविष्यवाणी गर्नु गाह्रो छ,’ मेसीले भने–‘निश्चय नै पेप निकै सफल प्रशिक्षक हुन, उनी छिटै लिगसँग समायोजन हुनेछन्। म ढुक्क छु, उनी सफल हुनेछन्।’
बार्सिलोना यो सिजन ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जितको अभियानमा छ।
अहिले घरेलु लिगमा ऊ शीर्षस्थानमा रहेको रियल म्याड्रिडभन्दा दुई अंकले पछाडि छ र थुप्रै खेल खेल्न बाँकी छ। मेसीले एउटै निश्चित प्रतियोगितामा मात्र बार्सिलोनाको ध्यान केन्द्रित नभएको बताएका छन्। र, उनले तीनवटा उपाधि जित्ने अभियानमा रहेको क्लब असफल भएमा यसले आफूलाई उत्तेजित पार्ने बताए।
‘बार्सिलोनाका लागि हामी सबै उपाधि जित्न चाहन्छौं,’ मेसीले भने–‘सिजनको सुरुवात नै हामीले उत्कृष्ट ढंगले गरेका छौं। हामीले सबै जितेका छौं। हामीले यही एउटा ट्रफी जित्ने भनेर प्रथामिकतामा राखेका छैनौ। सबै उपाधि उत्तिकै महत्वपूर्ण छन्।’
उनी आफूले पराजयलाई घृणा गर्ने बताउँछन्। ‘म पराजयलाई घृणा गर्छु। खेल हारेको केही समयसम्म यसले मलाई छुँदैन तर पछि असर पार्छ। म पराजयको लागि उभिएको कल्पनै गर्दिन्।’