नेपालमै पहिलोपटक झापाको मेचीनगरमा आयोजना हुन लागेको ‘स्वास्थ्य महोत्सव’को तयारी पूरा भएको छ।
यही माघ ८ देखि १४ गतेसम्म मेचीनगर–१२ मा सञ्चालन हुने सो महोत्सवमा नेपालका ख्यातिप्राप्त २५ वटा अस्पतालका विशेषज्ञ डाक्टरहरूले बिरामीको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएका छन्।
महोत्सवमा बिरामीको निःशुल्क उपचार र निःशुल्क औषधि वितरणका साथै स्वास्थ्यका विषयमा विज्ञहरूबीच प्यानल छलफलसमेत गरिने भएको छ।
महोत्सवको आयोजना नेपाली काँग्रेस, मेचीनगरले गरेको हो। महोत्सव अवधिभरमा २५ हजार सर्वसाधारणलाई स्वास्थ्य सेवा पुर्याउने लक्ष्य लिइएको आयोजक नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए।
महोत्सवस्थलमा प्रवेशद्वार, पूर्जी काट्ने ठाउँ, बिरामी जाँच्ने ठाउँ, प्रयोगशाला, औषधि बाँड्ने ठाउँ, प्यानल डिस्कसन हुने मञ्च, सवारी पार्किङलगायतको छुट्टाछुट्टै व्यवस्थाका लागि अस्थायी संरचना निर्माण गरिएको छ।
महोत्सवमा २५ लाख रुपैयाँ खर्च हुने मूल समिति संयोजक एवम् नेपाली काँग्रेस, मेचीनगरका सभापति ईन्द्र बुढाथोकी बताउँछन्। सबै खर्च स्थानीय सहयोगबाट जुटाइने र सरकारी निकायबाट एक पैसा पनि सहयोग नलिइएको उनको भनाई छ । रासस