उर्जा मन्त्रालयले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले सकारात्मक प्रभाव पारेको जनाएको छ ।
उर्जा मन्त्रालयले आईताबार कार्यक्रमले स्वदेश तथा विदेशबाट नेपालको जलविद्युतमा लगानी गर्ने प्रतिवद्धता आउन सुरु गरेको जानकारी दिएको हो। उर्जामन्त्री जनार्दन शर्माले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले प्रतिवद्धता जनाएको रकम जम्मा भएपछि जलविद्युतमा लगानी गर्ने सरकारको तयारी रहेको पनि स्पष्ट पारे। उनले प्रतिवद्धता आइसकेपछि लगानी गर्ने आयोजना, त्यसको लागत, निर्माण अवधी र त्यसबाट आउने प्रतिफललगायतको बारेमा लगानीकर्ताहरुलाई जानकारी गराउने पनि उल्लेख गरे।
कार्यक्रमबाट प्राप्त भएको रकम राष्ट्रिय गौरवको जलविद्युत आयोजनामा लगानी गर्ने सरकारको योजना रहेको छ ।
मन्त्रालयले अनलाइनमार्फत जलविद्युतमा लगानी गर्न आह्वान गरेपछि दैनिक ४० देखि ५० करोड रुपैयाँको प्रतिवद्धता आउने गरेको दावी पनि गरिएको छ। हालसम्म आएको प्रतिवद्धतामा विदेशमा रहेका युवाहरुले बढी चासो देखाएको पनि मन्त्री मन्त्री शर्माले जानकारी दिए।
मन्त्रालयले जलविद्युतमा लगानी गर्न आम जनतामा जनचेतनाको आवश्यक रहेको पनि औल्याउँदै आएको छ ।