निर्वाचन सम्बन्धी दुई वटा महत्वपूर्ण विधेयक आज पारित हुँदैछन्।
व्यवस्थापिका संसदको आज अपरान्ह तीन बजे बस्ने बैठकले निर्वाचन आयोग सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयक पारित गर्ने सभामुखका प्रेस सल्लाहाकार बाशुदेब शर्माले सेतोपाटीलाई बताए।
यी दुई विधेयकहरू आजको सम्भावित कार्यसूचीमा रहेको संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुइँकेलले बताए।
संसदले पारित गरेको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुन कार्यान्वयनका लागि बाटो खुल्छ। यो कानुन पारित भएसँगै सरकारले निर्वाचनको मिति घोषणा गर्न समेत सक्छ।
निर्वाचन आयोग सम्बन्धी विधेयकमा आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने प्रावधान रहेको छ।
राजनीतिक दलसम्बन्धी विधेयक, स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयक र निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा विचाराधिन छन्। यी विधेयकहरुलाई पनि पन्ध्र गतेभित्र टुंगो लगाइसक्ने राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले सेतोपाटीलाई बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन सम्बन्धी कानुनहरू माघ पन्ध्र गतेसम्म बनिसक्ने र निर्वाचनको मिति समेत घोषणा गर्ने घोषणा गरिसकेका छन्। प्रधानमन्त्री दाहालले वैशाख २५ गतेसम्म स्थानीय निर्वाचन गर्ने समेत बताएका छन्।
२०७४ माघ ७ गतेसम्म संवैधानिक व्यवस्था अनुसार स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन गरिसक्नुपर्छ। त्यसका लागि अझै चार वटा कानुन बनाउनुपर्छ।
निर्वाचन क्षेत्र निर्धारण आयोग सम्बन्धी विधेयक मन्त्रिपरिषदको विधेयक शाखामा छ। प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी विधेयक, राष्ट्रिय सभा सदस्य सम्बन्धी विधेयक र प्रदेश सभा सदस्य सम्बन्धी विधेयकहरु गृह मन्त्रालयमा विचाराधिन छन्।