महिला सशक्तिकरणको नारासहित नेपालमा पिङ्काथोलन काठमाडौंको आयोजना हुने भएको छ। भारतमा निकै लोकप्रिय रहेको यो दौड २४ फेब्रुअरी अर्थात शिवरात्रीको दिन नेपालमा आयोजना हुन लागेको हो।
खेलकुद र स्वास्थ्यको माध्यमबाट महिलाको सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले भारतको मुम्बईस्थित लेजर पोर्टको संलग्नतामा आयोजना हुन लागेको यो दौडमा विजय हुने दुई जनाले २०१८ को मुम्बई म्याराथनमा भाग लिन पाउने छन्।
प्रतियोगितामा तीन किमी, पाँच किमी, दस किमी र २० किमी गरी कूल ४ समूह रहेको छ। जसमा २० किमीमा जित हासिल गर्ने तीन खेलाडीलाई ५० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।
यस्तै, १० किमीमा पहिलो तीन स्थानमा आउने व्यक्तिले २० हजार, १० हजार र ५ हजार नगद जित्ने छन्। नेपाल एथलेटिक्स संघको सहयोगमा आयोजना हुन लागेको यो दौड दशरथ रंगशालाबाट सुरु भएर त्यही समाप्त हुनेछ।
प्रतियोगिताको विषयमा जानकारी दिने उद्देश्यले मंगलबार आयोजित पत्रकार सम्मेलनमा लेजर पोर्टका नमराज जोशीले दौडको इन्ट्री फिको रुपमा ५ सय रुपैयाँ राखिएको बताए। उनले प्रतियोगिताबाट उठेको पैसा ‘ब्रेस्ट क्यान्सर’ सोसाइटीलाई प्रदान गर्ने जानकारी दिए। उनले नेपालमा यो प्रतियोगिताको सहयोगीको रुपमा शिभम ग्रुप होलिडे रहने बताए।
पिङ्काथोलन प्रतियोगिताको योजनाकार भारतका चर्चित सुपर मोडल मिलन्द सोमन हुन्। उनकै सक्रियतामा भारतमा युनाइटेड सिस्टर्स फाउण्डेसनले यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। सन् २०१५ मा भारतको ८ शहरमा ६६ हजार महिलाले भाग लिएका थिए। जसबाट उठेको ६० लाख भारतीय रुपैयाँ क्यान्सरपीडित महिलाको उपचारमा खर्च भएको थियो।
‘नेपालमा पनि हाम्रो योजना यस्तै छ,’जोशीले बताए।
नेपाल एथलेटिक्स संघका अध्यक्ष शाहले कुनै उद्देश्यका लागि आयोजना हुने प्रतियोगितालाई संघले प्राथमिकता दिने बताए। उनले यो प्रतियोगितालाई आफ्नो बार्षिक क्यालेन्डरमा राख्ने समेत वचन दिए।