तस्बिरः नारायण महर्जन
सडक सुरक्षालाई थप प्रभावकारी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणलाई सवारीसाधनबाट जनचेतना दिने भएको छ।
ओबल इन्टरनेसनल प्रालिको सहयोगमा महाशाखाले सवारीसाधनमार्फत जनचेतना दिन लागेको हो। काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले ट्राफिक जनचेतनाका अभावले बर्सेनि हजारौँ मानिसको ज्यान जाने गरेकाले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए।
उनले भने, “यसले सवारी प्रयोगकर्ता र सर्वसाधारणलाई जनचेतना दिने हुँदा यो सेवा प्रभावकारी हुन्छ ।” उनका अनुसार ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउनका लागि महानगरपालिकाको सहयोगमा ३१ स्थानमा ट्राफिक बत्ती जडान गरिने छ ।
महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले हाम्रो शिक्षामा ट्राफिक जनचेतनासम्बन्धी कुरा समेट्न बाँकी रहेको बताउँदै नसमेटिएका अवस्थामा यस्ता कार्यक्रमले ट्राफिक जनचेतनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
महाशाखाले जहाँ मानिस जम्मा हुन्छन् त्यस्ता ठाउँमा ट्राफिक जनचेतनासम्बन्धी सेवा प्रदान गर्ने छ । महाशाखाले सेवा दिन आवश्यक परेको क्षेत्रको अध्ययन गरी दैनिक भिन्दाभिन्दै ठाउँमा सो सेवा सञ्चालन गर्ने बताएको छ ।