संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गरेका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले भने,‘संशोधन विद्येयक काम नलाग्ने छ। यो पारित गरेपनि वा नगरेपनि काम लाग्ने छैन, यसले समस्याको निकास दिँदैन।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै यादवले संसदमा दर्ता भएको विद्येयक काम न काजको भएको समेत टिप्पणी गरे। उनले अघि थपे,‘यो विद्येयक पास गरेपनि केही हुनेवाला छैन, फेल भएपनि केही हुनेवाला छैन।’
संघीय समाजवादी फोरम नेपालका समेत अध्यक्ष रहेका संयोजक यादवले अहिले आँफैले बनाएको संविधान आफैं उल्लंघन गर्ने काम भैरहेको समेत आरोप लगाए। यादवले भने,‘अहिलेको सरकारले आफूले बनाएको संविधान आफैं उल्लंघन गर्ने काम गरिरहेका छ। संविधानमा २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था छ, तर अहिले ४३ सदस्य पुगिसके, अझै ६/७ जना लाईनमा बसिरहेका छन्।’
उनले सबै राजनीतिक दलले एक अर्काले समस्या बुझेर समन्वयात्मक बाटो खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए। यादवले संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकोले यसमा एमाले बाधक बन्न नहुने जिकिर गरे। अध्यक्ष यादवले मुलुकको आन्तरिक समस्यालाई आफंैले हल गर्न सकिए अरुले केही गर्न नसक्ने समेत स्पष्ट पारे।
स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नभएको जिकिर गर्दै यादवले भने, ‘५२ प्रतिशत जनसख्या ओगटेको तराईमधेशमा मुस्किलले २५ प्रतिशत छ। यो न्यायोचित होइन। संरक्षित क्षेत्र, विशेष क्षेत्र र स्वायत्त क्षेत्रको पनि कुरै छैन। अनि कसरी चुनाव गराउने? नयाँ व्यवस्था अनुसार, पुरानो त गैसक्यो ?’
यादवले अहिलेसम्म सरकार र प्रमुख दलहरु स्थानीय तहको चुनाव गर्ने कि स्थानीय निकायको भन्नेमा नै अन्यौलमा रहेको आरोप लगाए।