तस्बिरः राउतको फेसबुकबाट
मधेसमा छुट्टै राष्ट्रका लागि अभियान चलाउँदै आएका सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरको माछाबजार रहेको डेराबाट नै उनलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लाहानले पत्राचार गरी राउतलाई पक्राउ गर्न आग्रह गरेपछि उनलाई पक्राउ गरिएको जनकपुर प्रहरीका एसपी लालमणि आचार्यले सेतोपाटीलाई बताए।
‘हामीले पक्राउ गरेर राउतलाई लाहान पठाएका छौ,’ आचार्यले भने।
राज्य विरूद्धको संगठित अपराध मुद्दा उनीविरूद्ध दर्ता भएपछि सिराहा र धनुषाको प्रहरीको संयुक्त टोलीले राउतलाई पक्राउ गरेको सिराहाका एसपी शेखर कोइरालाले सेतोपाटीलाई बताए।
पक्राउ परेपछि सिके राउतलाई जनकपुरबाट इलाका प्रहरी कार्यालय लहान लगिएको छ। इलाका प्रहरी कार्यालयले अदालतबाट म्याद लिएर राउतमाथि छानबिन गर्नेछ। तराईमा स्वतन्त्र मधेस अभियानका नाममा विभिन्न कार्यक्रम संचालन गरेपछि हामीले राउतमाथि राज्य विरुद्धको संगठित अपराध दर्ता गरेका छौं, इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले सेतोपाटीसँग भने।
उनले केही वर्षदेखि मधेसमा छुट्टै राज्यका लागि 'स्वराज' अभियान चलाइरहेका छन्। यसअघि पनि प्रहरीले उनलाई पटकपटक पक्राउ गर्दै छोड्दै गरेको थियो।
नेपालबाट मधेसलाई अलग गर्नु पर्छ भन्ने माग अघिसार्दै तराईमा गतिविधि गरेको आरोपमा भदौको दोस्रोसाता पक्राउ परेका राउतविरुद्ध राज्यविप्लवको मुद्दा दायर भएको थियो। उक्त मुद्दामा राउतलाई विशेष अदालतले धरौटीमा रिहा गरेको थियो।
को हुन् राउत?
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए।
उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर-आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्।
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँडे। त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा जापान गए।
जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउतसित कहाँ जाने कुनै योजना थिएन। भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे।
आत्मकथा बैरागदेखि बचाउसम्ममा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको बताएका छन्।
एक महिनापछि उनी फेरि जापान फर्किए। जापानमा कोर्सको अन्तिमतिर उनी बिरामी भए। अस्पतालमै उनले आफ्नो थेसिस लेखे, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उनलाई ह्ववीलचेयरमा लग्नुपरेको थियो।
जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट भए।
पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन कान्ड भएको थियो भने जापानमा फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो। ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिएका छन्।