कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ। गएराति ११.३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उनका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बाबु छोराबीच जग्गाको विषयमा विवाद हुँदा बाउले प्रहार गरेको खुकुरीबाट छोरा घाइते भएका थिए। घाइते छोरालाई उपचारको लागि घोडाघोडी अस्पताल पुर्याइएको थियो भने घोडाघोडी अस्पतालले थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाउँदा उपचारकै क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाबु रोकायलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। रासस