काठमाडौं महानगरपालिकाले स्काईरेलको सम्भाव्यता अध्ययन गर्ने भएको छ । मेट्रो रेलभन्दा उपयुक्त हुने निष्कर्ष निकाल्दै काठमाडौं महानगरपालिका र सिमेक्स कम्पनीबीच स्काई रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन अघि बढाउने सहमति पत्रमा हस्ताक्षर भएको हो।
बुधबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ र कम्पनीका अध्यक्ष प्रशिद्धजंग पाण्डेले सहमति पत्रमा हस्ताक्षर गरे। सहमति पत्रमा अबको दुई वर्ष भित्र काठमाडौंको छोटो रुटमा परिक्षणका रुपमा स्काई रेल सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ।
हाम्रो पूर्वाधार र जमिनको अवस्थितिलाई हेरेर स्काईरेलको सम्भाव्यता अध्ययन गर्ने निर्णय लिइएको काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले जानकारी दिए। उनले घना बस्ती भएको काठमाडौंमा स्काईरेल उपयुक्त हुने देखिएको पनि उल्लेख गरे।
सहमति पत्रमा मेट्रो रेल भन्दा स्काईरेल सस्तो हुने र निर्माण कार्य पनि सहज हुने दावी पनि गरिएको छ ।
एक वर्ष भित्र स्काई रेलका सम्भाव्यता अध्ययनको काम सक्ने योजना बनाइएको छ । त्यसपछि रेल संचालनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढन सकिने काठमाडौं महानगरपालिकाको योजना छ। सरकारले काठमाडौंमा मेट्रो रेल, केबलकार संचालनका लागि आवश्यक प्रक्रिया अघि बढाइ सकेको छ। लगानी बोर्डले मेट्रो रेलको सम्भाव्यता अध्ययनका लागि लगानीको मोडालिटीबारे छलफल गरिरहेको छ।
वाइबिडी साइमेक्स कम्पनी ३ महिनाभित्रै काठमाडौंको कुनै १० किलोमिटरको रुटमा मोनोरेल चलाउने विषयमा सम्भाब्यता अध्ययन गर्नेछ । काठमाडौंका अधिकांश क्षेत्रको अध्ययन सक्ने भने १ वर्ष लाग्छ ।