पछिल्लो एक दशकयता गोल गर्ने विषयमा अर्जेन्टिनाका लिओनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोबीच प्रतिस्पर्धा हुँदै आइरहेको छ। तर, स्विडेनका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिकले एउटा कीर्तिमानमा मेसीलाई पछि छोडेका छन्।
यसै सिजन इङ्ल्यान्डको चर्चित म्यानचेस्टर युनाइटेडमा आवद्ध इब्राहिमोभिकले पछिल्लो एक दशकमा लगातार २० गोल गर्ने विषयमा मेसीलाई पछाडि छोडेका हुन्।
आइतबार लेस्टर सिटीलाई ३–० ले पराजित गर्न इब्राहिमोभिकले गोल गरेका थिए। जुन उनको रेड डेभिल्सका लागि यो सिजन २० औं गोल थियो। इब्राहिमोभिकले पछिल्लो एक दशकमा लगातार २० गोलको संख्या पुरा गरेका छन्।
मेसीले भने नौ पल्टमात्र यो कीर्तिमान बनाएका छन्। सन् २००७ मा मेसी लिग फुटबलमा १६ गोल मात्र गर्न सफल भएका थिए। त्यसपछि उनी २० मात्र होइन, ३० भन्दा बढि गोल गर्दै आइरहेका छन्। इब्राहिमोभिकले २००७ मा २२ गोल गरेका थिए।
पछिल्लो १० वर्षमा विभिन्न क्लब चहार्ने क्रममा इब्राहिमोभिकले ३ सय ५ गोल गरेका छन्। मेसीले उनीभन्दा बढि गोल गरेका छन्। मेसीले यो सिजन ३१ गोल गरिसकेका छन्। विगत १० वर्षमा मेसीको गोल संख्या ४ सय ६० पुगिसकेको छ।
३५ वर्षको उमेरमा प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी पनि इब्राहिमोभिक बन्न पुगेका छन्।