यहाँका पूर्वजनप्रतिनिधिले चुनावको माग गरेका छन् । बुधवार पत्रकारसम्मेलन गरेर पूर्वजनप्रतिनिधिले अभियानको थालनीसमेत गरे ।
नयाँ संविधानले आउँदो माघसम्म देशमा तीन तहको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था गरेको छ । तर अझै पनि चुनावको वातावरण तयार हुन सकेको छैन । सरकारले जेठ १० भित्र स्थानीय तहको चुनाव गरिसक्ने भनेपनि अझै पनि चुनावको मिति भने घोषणा हुन सकेको छैन ।
चुनावको मिति सरकारले घोषणा नगरेको कारण त्यो समयभित्र चुनाव हुने भरपर्दो आधार देखा परेको छैन । “चुनावको विकल्प छैन । तर चुनावको आधार तयार भएको छैन”, घोराही नगरपालिकाका निवर्तमान नगरप्रमुख अमरबहादुर डाँगीले भने, “त्यसका लागि सरकारलाई दबाब दिनुको विकल्प छैन ।”
त्यसैगरी, तुलसीपुर नगरपालिकाका पूर्वउपप्रमुख घनश्याम पाण्डेले सरकारले नयाँ सरंचनाअनुसार स्थानीय तहको निर्वाचन नै गर्नुको विकल्प नभएको भन्दै त्यसै अनुसार यो अभियानले दबाब दिने बताए। उनले चुनाव नहुँदा नागरिक मताधिकारबाट वञ्चित भएको बताए।
पत्रकार सम्मेलनमा चुनाव नहुँदा लोकतन्त्रसँगै, राष्ट्रियता, विकास र सामाजिक न्यायसमेत कमजोर भएको पूर्वजनप्रतिनिधिको भनाइ थियो । त्यसैगरी, तुलसीपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख ढुण्डीराज लामिछानेले विकास निर्माणको कामलाई पारदर्शी बनाउन पनि चुनाव आवश्यक भएको भन्दै यो अभियानलाई फराकिलो बनाएर लैजाने बताए।
पूर्व नगरप्रमुख डाँगीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मानपुर गाविसका निवर्तमान अध्यक्ष टोपेन्द्रबहादुर केसी, भरत अर्याल लगायतले छिटोभन्दा छिटो चुनाव हुनुपर्ने बताएका थिए । रासस