यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार धरानको स्व विमल गुरुङ स्मृति पुस्तकालयलाई दिइने भएको छ।
हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा गठित प्रतिभा छनौट समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो। फणीन्द्र अकिञ्चन संयोजक र वासुदेव अधिकारी तथा शिव खकुरेल समितिको सदस्य थिए।
प्रत्येक दुई/दुई वर्षमा वितरण गरिने सो पुरस्कारको राशि एक लाख रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारका लागि स्व हेमराज पहारीको परिवारले १९ लाख रुपैयाँको एक अक्षयकोष स्थापना गरेको स्व पहारीका धर्मपत्नी तथा प्रतिष्ठानका अध्यक्ष रीता पहारीले जानकारी दिए।
नेपाली साहित्यको उत्थानमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सो पुरस्कारबाट सम्मान गरिँदै आएको बताइएको छ। विसं २०६९ सालमा पहिलोपटक संस्कृतिविद् सत्यमोहन जोशी र २०७१ सालमा राप्ती साहित्यिक परिषद्लाई उक्त पुरस्कार दिइएको थियो।
हेमराज पहारीको २०६६ फागुन १७ गते लेखनाथ नगरपालिकाको विजयपुरमा सडक दुर्घटनामा परी निधन भएको थियो। सो पुरस्कार आगामी फागुन १७ गते धरानमा एक कार्यक्रम आयोजना गरी वितरण गरिने कार्यक्रम छ। रासस