दिल्लीले भारतका पूर्व टेस्ट क्रिकेटर गौतम गम्भीरको स्थानमा १९ वर्षीय युवा ब्याट्सम्यान ऋषभ पन्तलाई कप्तान नियुक्त गरेको छ। यसै महिना इङ्ल्यान्डविरूद्ध तेस्रो टि–२० मा भारतीय टिममा समावेश भएका ऋषभलाई उनको प्रतिभाका कारण कप्तान नियुक्त गरिएको छनोट समितिका अध्यक्ष अतुल वासनले जानकारी दिए।
गम्भीरलाई पछिल्लो समय भारतीय एकदिवसीय र टि–२० टिममा छनोट नगरिएका कारण उनलाई दिल्लीको कप्तानीबाट हटाउने निर्णय गरिएको हो। गम्भीर आइपिएलमा कोलकाता नाइटराइडर्सका कप्तान हुन्।
गम्भीरलाई कप्तानीबाट बर्खास्त गरिएको जानकारी वासनले नै उनलाई दिएका थिए। पूर्व भारतीय स्पिनर तथा दिल्लीको छनोट समितिका सदस्य निखिल चोपडाले मिडियासँग भने– ‘विजय हजारे ट्रफी एकदिवसीयको अन्तिम प्रतियोगिता हुनेछ।
यसबाट नै हामी निचोडमा पुग्न सक्छौ भविष्यमा कसको कप्तानीमा दिल्लीको टिम अगाडि बढ्न सक्छ। केही वर्षदेखि हामी गम्भीरको स्थानमा अर्को कप्तानको खोजमा असफल हुँदै आइरहेका थियौं।’ उनले विजय हाजरे ट्रफीबाट ऋषभको कप्तानीको परीक्षा हुने बताए।