सुनसान छ रात
म कोठाभित्र कैद छु,
माथि आकाशगङ्गामा तैरिँदै होली लोभलाग्दी जून
र, मायालाग्दा ताराहरु आकाशको चौरबाट चिमचिम गर्दै
हेरिरहेका होलान् धरतीतिर वा अन्तरिक्षैतिर।
निद्रा निकै कोश परबाट
मेरा लागि विस्तारै ढल्कीढल्की आउँदैछ होला,
मध्यरातको यो मेलामा
म झ्याल खोलेर हेर्छु
चुक घोप्टिएकोझैँ छ अन्धकार,
टाढाटाढा, कहाँ हो कहाँ
मधुरो बत्ती टिमटिमटिमटिम बलिरहेछ,
हुनसक्छ, त्यहाँ कोही जीवनको गलैँचा बुन्दैछ
हुनसक्छ कोही उधार्दैछ
कोही सपना देख्दैछ होला, कोही ब्युँझी पनि सक्यो होला सपनाबाट
कोही कल्पँदै होला माया पाउन, कोही पाएर अघायो होला
कोही यात्रा सकिएर फर्किएको होला घरभित्र
त कोही भोलि बिहानै हिँड्नेछ सफरमा घरबाट।
म वारी यहाँ, यति टाढा बसेर कल्पना गर्दैछु
त्यो पारी कोही त होलान्, केही न केही गर्दै होलान्,
या कोही पहरा दिइरहेको होला
या कोही होला जो क्रान्तिको खाका कोरिरहेको होला।
तर, त्यहाँ बसेका कसैलाई थाहा छैन
म पारिपारि टाढाको प्रकाशलाई हेरिरहेछु र नानाभाँती सोचिरहेछु।
हेर्दाहेर्दै बिन्दुझैँ लाग्ने त्यो टाढाको बत्तीको वरिपरि
उज्यालोकै जालो लागेझैँ हुन्छ
जसमा ठोक्किएर
मेरा सोचका पुतलीहरु एकएक गरी मर्दछन्।
म पनि कम छैन—कोठाभित्रै बसेर
सुनसानको औजारले
रातलाई धमाधम ध्वस्त पार्दैछु।