इङ्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलका स्ट्राइकर एलेक्स सान्चेजले हातले गरेको गोलको विषयमा रेफ्रीले हल सिटीका खेलाडीसँग माफी मागेका छन्।
शनिबार भएको खेलमा सान्चेजको दुई गोलको सहयोगले आर्सनल २–० ले विजयी भएको थियो। सान्चेजले गरेको पहिलो गोल हातको सहयोगमा भएको थियो। दोस्रो हाफका लागि मैदानमा प्रवेश गर्ने बेला रेफ्री मार्क क्लाटेनवर्गले सिटीका खेलाडीसँग माफी मागेको प्रशिक्षक मार्को सिल्भाले बताए।
सान्चेजले पहिलो हाफको ३० मिनेटमा गोल गरेका थिए। उनले अर्को गोल ९० मिनेटपछि थप गरिएको ३ मिनेटमा पेनाल्टीबाट गरे। सिटीले ९१ मिनेटमा क्लुकासलाई रातो कार्डका कारण गुमाएको थियो। जितसँगै आर्सनल २५ खेलमा ५० अकका साथ तेस्रो स्थानमा उक्लिएको थियो। २० अंक बटुलेको हल सिटी रेलिगेशन क्षेत्रमा छ।